निर्वाचन भएको चार वर्षपछि फेरि मतगणना हुँदा रमेशकुमार राय विजयी
[ पुरन साह ]
जनकपुरधाम:= निर्वाचन भएको चार वर्षपछि फेरि मतगणना हुँदा वडाध्यक्षमा रमेशकुमार राय विजयी हुनुभएको छ । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्षमा राय विजयी हुनुभएको हो । आइतबार उच्च अदालत जनकपुरमा मतगणना हुँदा चौधरी विजयी भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी गराउनुभयो ।
चार वर्षअघि निर्वाचनको परिणाम सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याउनुभएको थियो । समान मत आएपछि गोला प्रथाबाट चौधरी निर्वाचित हुनुभएको थियो । तर, पराजित हुनुभएका भनिएका उम्मेदवारले चित्त नबुझेपछि अदालतमा मुद्दा दिनुभएकोमा सो मुद्दामा उच्च अदालत जनकपुरले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि वडाध्यक्षमा निर्वाचित चौधरी सर्वोच्च अदालत पुग्नुभएको थियो ।
सर्वोच्चले समेत उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदिएपछि पुनः मतगणना भएको हो । पुनः मतगणना हुँदा रायले २६८ र चौधरीले २६६ मत ल्याउनुभएको छ। आफू निर्वाचित भएपछि रायले सत्यको जित भएको बताउनुभएको छ । रायले निर्वाचनपछि भएको मतगणना समय धाँधली गरेर चौधरीलाई जिताएको र उनले योबीचमा धेरै भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ ।




















