दाङमा मिटरब्याजीहरूको आतंक बढ्यो, प्रहरीद्वारा अनुसन्धान सुरु, ३० जनामाथि विशेष निगरानी।

दाङ:= दाङको प्रमुख व्यापारिक केन्द्र घोराही, तुलसीपुर, लमही, भालुवाङ, गढवालगायत स्थानमा ‘मिटरब्याज’को आतंक बढेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । अत्यन्तै जोखिम तथा गैरकानुनी काम मिटरब्याज कारोबारले कति बेला कसको घरबार उठ्ने हो कसैलाई कुनै पत्तो छैन । रातारात धनी बन्ने सपनामा मिटरब्याजको फन्दामा पर्ने मध्यम तथा निम्नवर्गीय परिवारका सदस्यका लागि जीवन बर्बादीको कारक बन्दै गएको छ।

दाङमा अहिले केही ‘माडे’ भनिनेहरूले बिचौलियाको माध्यम बनाएर आफू बाहिर नदेखिने गरी भित्रभित्रै करोडौँ रकम मिटरब्याजमा लगाउनेहरू अहिले धमाधम प्रहरीको निगरानीमा पर्न थालेपछि घटना एकपछि अर्को गरी क्रमशः बाहिरिँदै गएको छ । अत्यावश्यक काम परेको बेला ऋण खोज्न जानेहरू मिटरब्याजीको फन्दामा पर्ने गरेका छन् । व्यवसाय या कारोबारमा संलग्न मात्र होइन, अप्ठेरोमा परेका कारण मिटरब्याजमा रकम लिने र सम्पत्ति डुबाउनेको संख्या पनि दाङमा ठूलो छ।

विदेश जाँदा चाहिने रकम अभावमा मिटरब्याजी कहाँ पुगेर फस्नेहरू होऊन् वा व्यापारका लागि लगानी थप गर्न रकम तत्काल आवश्यक पर्नेहरू अहिले सडकमा आएका घटना पनि दाङमा प्रशस्त हुन थालेका छन् । उनीहरूले घरजग्गा दृष्टिबन्धक गर्नेदेखि छिनुवा पास गरेर आसामीको शरणमा पुग्न बाध्य हुने गरेका छन् । मिटरब्याजीहरूले कपाली तमसुक बनाउने, जग्गा छिनुवा पास गर्न लगाउने, ऋणीलाई दबाबमा राखेर दुईवटा कागज बनाएर मोटो रकम असुल्ने गरेका छन्।

जिल्लामा अहिले यस प्रकारको गैरकानुनी गतिविधिको सिलसिला निकै बढेर गएपछि प्रहरीले चासो लिएको छ । जिल्ला प्रहरी कार्यालय, दाङले घटनाका बारेमा बृहत् अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्लामा मिटरब्याजको गैरकानुनी कारोबार गर्नेहरू प्रहरीको निशानामा परेका छन् । अहिले दैनिकजसो प्रहरीले मिटरब्याजको कारोबार गर्ने गरेको आशंकामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई घटना अनुसन्धान अघि बढाएको जनाएको छ।

अनुसन्धानका लागि नियन्त्रणमा पर्नेहरू प्रतिष्ठित व्यक्तिदेखि कानुन व्यवसायी, उद्योगी व्यवसायीसमेत रहेका छन् । उनीहरूले छोटो समयमा मोटो रकम कमाउने लोभमा अरूको घरबार उठाउने दुस्साहस गरेको पाइएको छ । ‘घटनाका विषयमा हामी अत्यन्तै गम्भीर रूपमा अघि बढेका छौंँ,’ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले हिमालय टाइम्सलाई भन्नुभयो, ‘बृहत अनुसन्धानमा छौँ । पीडितवालाले जाहेरी नदिँदा पनि अनुसन्धानमा केही बाधा पुगेको छ ।’

उहाँका अनुसार अहिलेसम्म ३० जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्ने काम भइसकेको छ । उहाँले घटनाको सुरुवात कसरी हुन्छ भन्ने यकिन गर्न नसक्दा समस्या कहाँबाट थालनी भएको हो भन्नेमा आफूहरूलाई जडसम्म पुग्न अप्ठ्यारो परेको बताउनुभयो । तर, अनुसन्धान धेरै अघि बढिसकेकाले त्यसकै आधारमा मोटो रकम मिटरब्याजमा लगानी गर्नेहरू प्रहरीको फन्दामा पर्ने सम्भावना बढेर गएको छ । ‘केही बलिया आधार पत्ता लागि सक्यो, अब ढिलो चाँडो हामी ठूला माछा समात्ने ठाउँमा पुग्दैछौँ,’ प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयोे ।

मिटरब्याजमा संलग्नहरूको पहिचान गर्न सम्भावितहरूलाई अनुसन्धानको दायरामा ल्याउने र सोधपुछ गरी निगरानीमा राख्ने काम निरन्तर जारी रहेकाले यो विषय प्रहरीका लागि पनि उत्तिकै जिम्मेवारीपूर्ण अवस्था पुगेको बताउनुभयो । प्रहरीले मिटरब्याजी गिरोहको सञ्जाललाई नै निरुत्साहित गर्न कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ । ‘अहिलेसम्म ३० जना आशंका गरिएकाहरू प्रहरीको अनुसन्धानमा परिसकेका छन् । उनीहरूमाथि अहिले पनि कडा निगरानी राखिएको छ,’ प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयोे, ‘केही ठूला व्यापारीदेखि सामाजिक प्रतिष्ठा बोकेका भनिएकाहरू पनि निगरानीमा परेका छन् ।’

अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएकाहरूले पीडितलाई कम रकम दिएर माटो रकमको तमसुक बनाउने गरेको, कमिसन अत्यधिक लिने गरेको, ब्याजदर अस्वाभाविक रूपमा असुल्ने गरेको पाइएको छ । तर, रकमको कारोबार गर्दा तमसुक गर्ने गरिएको प्रशस्त आधार भेटिएकाले तमसुकको विषय फौजदारी हुने हुँदा यो विषय अदालतले हेर्ने हुँदा घटना अनुसन्धानमा केही समस्या आएको उपरीक्षक काफ्लेले बताउनुभयो । ‘कुनै पनि अभियुक्तलाई ६ दिन मात्रै हामीले नियन्त्रणमा लिएर राख्न मिल्छ । यसले पनि बृहत् अनुसन्धानमा बाधा पुग्ने गरेको छ, यसलाई वैकल्पिक विधि अपनाएर भए पनि निचोडमा पुग्ने गरी हामी अघि बढेका छौँ,’ प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो ।

पीडितलाई थोरै रकम दिएर तमसुकमा मोटो रकमको समझदारी गराउने गिरोहका कारण रकम तिर्न नसकी घरबारविहीनको अवस्थासम्म पुग्ने गरेका छन् । नियन्त्रणमा परेकाहरूको बयानका आधारमा एकैजनालाई ४० लाख रुपैयाँसम्मको तमसुक गराइएको पाइएको छ । गैरकानुनी कामलाई निरुत्साहित गर्न प्रहरीले थालेको अनुसन्धानमा पीडितवालाहरूले साथ दिनुपर्ने उहाँको अपिल छ ।

कुनै बेला मिटरब्याज कारोबारीको जिल्लामा दबदबा रहे पनि अब यो काममा उनीहरू हच्किन थालेका छन् । उनीहरूसम्म पुग्नका लागि प्रहरी आफैँले पनि विभिन्न विकल्प अपनाई अघि बढेको छ । अहिले प्रहरीको सक्रियताका कारण यो घटनामा नयाँ समस्या नथपिए पनि पुराना घटनाले पीडित हुनेहरू अनौपचारिक रूपमा प्रहरीको सम्पर्कमा पुगेर न्यायको याचना गर्नेहरू बढ्दैछन् । सामाजिक प्रतिष्ठा, साहुको दबाबका कारण पनि पीडित पक्ष आफू ऋणले गर्दा आफू नांगिए पनि हत्तपत्त समस्या बाहिर ल्याउन चाहेको देखिएन । यसले गर्दा पनि अनुसन्धानमा समस्या हुने गरेको छ ।

प्रहरीका अनुसार मिटरब्याज कारोबारमा तीन थरीका गिरोह संलग्न छन् । पहिलो गिरोह, यसमा लगानी गर्न प्रोत्साहित गर्नेको छ । व्यावसायिक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानोतिनो व्यावसायिक सम्बन्ध भएकाले नै एक–अर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्छन् । अर्को गिरोह वित्तीय संस्थामा ऋण धितो राखेर रकम निकाल्नेको छ । विभिन्न व्यावसायिक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र सुरुसुरुमा आकर्षक ब्याज दिई विश्वास दिलाउने काम यही गिरोहले गर्छ । विस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकैपटक ठूलो रकम लगानी हुन्छ । तेस्रो गिरोहले लगानी भएको रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउँमा दिने, राजनीतिक संरक्षणका लागि पहल गर्ने काम गर्छ । यसरी संस्थागत रूपमा भइरहेको ठगीमा परेकाहरूले उजुरी दिन थालेपछि मुख्य व्यक्तिलाई भगाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको छ ।

मिटरब्याज कारोबारको जालो वित्तीय संस्थासम्म फैलिएको छ । सामान्य कारोबारका लागि ऋण दिन धेरै सास्ती भोग्नुपरे पनि मिटरब्याज कारोबारीलाई भने वित्तीय संस्थाले सजिलै ऋण दिन्छन् । सरकारी तथा निजी क्षेत्रका बैंकका कर्मचारी यो धन्दामा संलग्न छन् । यहाँ मिटरब्याजमा कारोबार गर्ने अधिकांशका नाममा विभिन्न बैंकमा ठूला-ठूला व्यावसायिक कर्जा छन् । तर, तिनको व्यवसाय कहीँकतै केही पनि देखिँदैन । बैंकका कर्मचारीलाई आकर्षक कमिसन दिएर यसरी कर्जा लिने र मिटरब्याजमा लगानी गर्ने गरिएको छ ।

बैंकका कर्मचारीमार्फत सहज तरिकाले ऋण निकाल्ने र मिटरब्याजमा लगाउने प्रवृत्तिले गर्दा व्यवसाय गर्न कर्जा पाउनेहरूका लागि ऋण लिन निकै गाह्रो हुँदै गएको सेवाग्राहीको गुनासो छ। निजी बैंकले त मिटरब्याजमा संलग्न व्यक्तिहरूका नाममा भएको कम्पनीविरुद्ध प्रहरीमा उजुरीसमेत गरेको पाइएको छ । बैंकले शंकास्पद रहेको धितोमा फर्जी कागजपत्र तयार गरेको भन्दै छानबिनका लागि प्रहरीमा उजुरी गरेको पाइएको हो । तर, पीडितले भने बैंकको मिलेमतोमा ठूलो रकम धितोवालाको सहमतिबिना नै कर्जा दिएको आरोप लगाउँदै आएका छन् ।

मिटरब्याज भनेको मिटर घुमेजस्तै ब्याज रकम फनफनी घुमेर जोडिने रकम हो । बैंकहरूले प्रवाह गरेको ऋणको ब्याजदर राष्ट्र बैंकले निर्धारण गरेको ‘पोर्ट फोलियो’का आधारमा तय हुने हुँदा पछि गएर ऋणिले सुरुवाती चरणमा सम्झौता गरेभन्दा ठूला अन्तर पर्ने गरी ब्याज भुक्तानी गर्नु नपर्ने व्यवस्था भए पनि मिटरब्याजमा सबै मोटो रकम बुझाउनुपर्छ । जसले गर्दा ऋण लिनेहरू प्राय सडकमा आउन बाध्य हुने गरेका छन् । चर्को ब्याजदरमा अनधिकृत र गैरकानुनी रूपमा रकम लगानी गरी व्यक्तिलाई ‘उठीबास’ लगाउने गरी ‘मिटरब्याजको धन्दा’ चलेपछि यो घटना अहिले सतहमा आएको प्रहरीले बताएको छ।