झापा:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले आगामी निर्वाचन नलड्ने बताउनुभएको छ । अध्यक्ष ओलीले नेपाल समानुपातिकमा बस्ने ठोकुवासमेत गर्नुभयो ।
आइतबार गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले बिर्तामोडमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जितेर देखाउन च्यालेन्ज गर्नुभएको छ ।
आफूहरूसँग टाँसिएर प्रचण्डले चुनाव जितेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डको फूर्ति हामीले बनाइदिएको हो, हामीबिना चुनाव जितेर देखाओस् त ?’ ‘उहाँसँग होलान् केही सांसद, त्यही सांसदहरूको दम्भमा मोर्चा बनाएका होलान्,’ उहाँले भन्नुभयो, ‘मोर्चा बन्दा त तीन महिना लाग्यो सरकार बनाउन ? यी मोर्चालाई आगामी चुनावमा कसले भोट देलान् ।’
‘यी विनाशकारी तत्व हुन्, विध्वंशकारी तत्व हुन, भड्काउने तत्व हुन्, अस्थिरता निम्त्याउने तत्व हुन, स्थिरता ल्याउने तत्व होइन,’ उहाँले भन्नुभयो, ‘अब यिनलाई कसले भोट दिन्छ, जाऊन् अदालत परमादेश ल्याऊन् आओस्, हामी कहाँ किन आउनुपर्यो ?’ ‘यिनीहरू जान्छन् कता, यिनीहरूको गन्तव्य के हो ? एउटा पूर्व फर्केका छन्, अर्को पश्चिम फर्केका छन्,’ उहाँले भन्नुभयो । नेकपा एमाले देशकै ठूलो पार्टी भएको दाबी गर्दै उहाँले भन्नुभयो, अरू पार्टीभन्दा नेकपा एमाले एक दिशामा हिँडेको, एउटा गन्तव्य, नीति, कार्यक्रममा लागेर योजना तथा लक्ष्य बोकेको पार्टी हो ।
एमाले पार्टी बिग्रिएका तत्वहरूलाई थुपारेर अघि बढ्ने पार्टी हो । ‘माधव नेपालबाहेक अरू साथीहरू पार्टीमा फर्किए हुन्छ, भ्रममा नपर्नुहोस्,’ उहाँले भन्नुभयो, ‘तर, माधव नेपाल जस्ता अपराधी तत्वलाई फेरि एमालेले लिँदैन ।’ उहाँका अनुसार देशमा विकासको लहर एमालेले ल्याएको हो । गरिब देशका जनतालाई अब धनी बनाउन विकासको गतिलाई तीव्र गतिमा अघि बढाउनुपर्छ । त्यसैले हाम्रो राष्ट्रिय आकांक्षा भनेकै समृद्धि नेपाल र सुखी नेपाली नै हो ।
कार्यक्रममा स्थायी समिति सदस्यहरू सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभु साहलगायतको उपस्थिति थियो । सो कार्यक्रममा माओवादी पार्टी परित्याग गरी झापाका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत तीन हजार बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
यता, झापा ओर्लिएलगतै अध्यक्ष ओली चन्द्रगढी विमानस्थलबाट सोझै बुवा मोहनप्रसाद ओलीलाई भेट्न उहाँका घर पुग्नुभएको थियो । भद्रपुर नगरपालिका–१ स्थित हिमाली चोकमा भाइ जेपी ओलीसँग बस्दै आउनुभएका बुबा मोहनप्रसादलाई भेट्न ओली पुग्नुभएको हो । बुबा मोहनप्रसादले छोरा केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न आशीर्वाद दिनुभएको थियो ।
उहाँका बुवा मोहनप्रसादले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने दाबीसमेत गर्नुभएको छ । छोरालाई भेटेपछि मोहनप्रसादले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो दाबी गर्नुभएको हो । आफ्नो छोरा अझै २० वर्षसम्म स्वस्थ रहने बताउँदै ९० वर्षीय मोहनप्रसादले छोरा ओलीलाई षड्यन्त्र गरेर प्रधानमन्त्री पदबाट हटाइएको पनि बताउनुभएको थियो ।




















