मिस युनिभर्स नेपालमा १६ प्रतियोगी भिड्ने।

काठमाडौं:= ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमंग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्‍याम्पवाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भविश्यको उद्देश्य राख्नुभएको थियो । याक एण्ड यतिको लाल दरबार कन्भेन्सन सेन्टरमा आयोजना भएको कार्यक्रममा १६ जना प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला शशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्दाका विषयमा बनाइएको २ देखि ३ मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरियो ।

प्रतियोगीतामा १६ बाट अब शीर्ष १० छानिनेछ । छनौटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिसत आइएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगीताको ग्राण्ड फिनालेको भिआइपी टिकटसमेत प्राप्त गर्न सकिने आयोजकद्वारा कार्यक्रममा जानकारी दिइयो ।

प्रतियोगिताको ग्राण्ड फिनाले यही अक्टोबर ३० अर्थात् १३ कात्तिक शनिबार आयोजना हुनेछ । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ । ‘मिस युनिभर्स’का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो । गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्माले गर्नुभएको थियो ।