भाइरल गीत ‘मानिके मगे हिते’ ‘थ्यांक गड’मा राखिने।

मुम्बई:= चार महिनाअघि सार्वजनिक भएको श्रीलंकाको गीत ‘मानिके मगे हिते’ विश्वभर हिट भयो । यसको प्रभाव नेपालमा पनि छ । भाषा नबुझे पनि यस गीतको संगीतले लठ्याउँछ । टिकटकलगायत सामाजिक सञ्जालमा निकै छरिएको छ । यो गीत श्रीलंकाकी गायिका योहानी डिलोका डे सिल्भाले गाएको कभर गीत हो ।

गीतको चर्चासँगै योहानीको पनि निकै चर्चा चल्यो । गायिका योहानीले यही गीतको हिन्दी भर्सन गाएर बलिउडमा डेब्यू गर्ने बताइएको छ । उहाँको यस गीतको रिक्रिएट भर्सन चलचित्र ‘थ्यांक गड’मा राखिने भएको छ । हिन्दी भर्सनको योहानीले गाउने गीतलाई रश्मी विरागले लेख्ने बताइएको छ भने यसलाई तनिश्क बाग्चीले कम्पोज गर्नुहुनेछ ।

निर्देशक इंद्र कुमारको चलचित्र ‘थ्यांक गड’मा अजय देवगन, सिद्धार्थ मल्होत्रा र राकुल प्रीत सिंह मुख्य भूमिका रहनेछन् । यो गीतले भारतको चर्चित रियालिटी सो ‘बिग बोस सिजन १५’मा समेत स्थान पाएको थियो । गायिका योहानीले बिग बोजको स्टेजमा प्रस्तुति दिनुभएको थियो । साथै उहाँको निकै प्रशंसासमेत भएको थियो ।

एक वर्षअघि उक्त गीत रिलिज भएको थियो । दुलान एआरएक्सको शब्द रहेको गीतमा सतिशसानले स्वर भर्नुभएको थियो । त्यसपछि योहानीले चार महिनाअघि कभर गीत निकाल्नुभएको हो । हिन्दी, तेलुगु, तमिल साथै चाइल्ड भर्सनमा पनि यो गीत आइसकेको छ ।