सप्तरी := पत्रकार मदन चौधरीलाई दिलीप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । दिलीप स्मृति प्रतिष्ठानले सप्तरीको सप्तकोसी नगरपालिकाको गंगाजलीमा हिजो शुक्रबार आयोजना गरेको कार्यक्रममा पत्रकार चौधरीलाई नगद रु.११ हजार रुपैयाँ राशि रहेको सो पुरस्कारबाट सम्मान गरिएको हो।
नेकपा एमालेका सचेतक शान्ता चौधरी र प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । चौधरी विगत डेढ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय छन्।

कार्यक्रममा सप्तरीमा रहेर पत्रकारिता गर्दै आएका नवीन गुप्ता र वृजमान तामाङलाई पनि पुरस्कृत गरिएको थियो । सप्तरीको फत्तेपुरमा जन्मिएका दिलीप चौधरी २०४२ सालमा देशव्यापी रुपमा भएको बम काण्डको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनको हत्या भएको थियो।

साथै सोही कार्यक्रमको अवसरमा सहिद दिलीप चौधरीको सम्झनामा स्मृति स्तम्भको अनावरण समेत गरिएको छ। सप्तकोसी नगरपालिकाको वडा नम्बर-५ स्थित गंङ्गाजलिमा स्मृति स्तम्भको अनावरण गरिएको हो।
नेकपा एमालेकी सचेतक शान्ता चौधरी र सहिद दिलीप चौधरी प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले संयुक्त रुपमा स्मृति स्तम्भको अनावरण गरेका थिए।





















