कैलाली := पछिल्ला दिनमा विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शुक्रबार साँझसम्म १११ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले शुक्रबार अबेर उपलब्ध गराएको विवरणअनुसार पहिरोमा परी प्रदेश १ मा सबैभन्दा बढी ६५ जना, बागमतीमा १, गण्डकीमा दुई, लुम्बिनीमा चार, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १११ जनाको ज्यान गएको हो ।
बाढीपहिरोमा परी अझै ३७ जना बेपत्ता छन् । प्रहरीका अनुसार प्रदेश १ मा ११, २ मा एक, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता छन् । बेपत्ताहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।बाढीपहिरोमा परी ४२ जना घाइते भएका छन् । जसमध्ये प्रदेश नम्बर १ मा २१, कर्णालीमा चार र सुदूरपश्चिममा १७ जना छन् । बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका छन् ।
ठाउँठाउँमा राहत र सहयोगको आश्वासन बाँड्दै काठमाडौं फर्किनुभयो प्रधानमन्त्री देउवा :

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान हुनेगरी पहल गर्ने बताउनुभएको छ । शुक्रबार कैलालीको टीकापुर–८ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीन रूपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताउनुभयो । ‘अहिले बाढीपहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘त्यसमा सरकार लागिसकेको छ । त्यसपश्चात् दीर्घकालीन रूपमा राहतका लागि सरकारले योजना बनाएर अगाडि बढ्छ ।
बाढी र डुबानका कारण किसानले ठूलो क्षति बेहोर्नुपरेको अवस्थामा उनीहरूका लागि दीर्घकालीन राहत प्याकेजको सरकारले व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । साथै प्रधानमन्त्री देउवाले विपत्तिका कारण भएको धनजनको क्षतिलाई प्रत्यक्ष रूपमा निरीक्षण गरिएको बताउँदै प्रभावित क्षेत्रको वस्तुस्थितिलाई नजिकबाट नियालेका कारण पनि अहिलेको समस्यालाई समाधानका लागि सरकारले तत्काल योजना बनाएर अगाडि बढ्ने आश्वासन दिनुभयो । उसो त प्रधानमन्त्री देउवाले राहतको आश्वासन हरेक क्षेत्रमा पुगेर दिनुभयो ।
धनगढीमा शुक्रबार बिहान पत्रकार सम्मेलन गर्नुभएका देउवाले बाढी, पहिरोपीडितलाई तत्काल राहत दिने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएकोमा अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरू ल्याउने आश्वासनसमेत दिनुभयो । ‘सुदूरपश्चिममा अविरल वर्षाका कारण बाढी पहिरोले सबैभन्दा बढी क्षति भएको छ, यो अत्यन्तै दुःखद कुरा हो,’ उहाँले भन्नुभयो, ‘अकल्पनीय क्षति भएको छ । हामी तत्काल दीर्घकालीन राहतको व्यवस्था गर्नेछौँ ।’
पत्रकार सम्मेलनछि प्रधानमन्त्री देउवा महाकाली नदीले पु¥याएको क्षतिबारे बुझ्न कञ्चनपुर पुग्नुभएको थियो । कञ्चनपुरबाट पुनः कैलालीको कैलारी गाउँपालिका पुग्नुभएका देउवाले बाढीपीडित किसानहरूको गाउँमै गएर समस्या बुझ्नुभयो । लगत्तै प्रधानमन्त्री देउवाको टोली कैलालीकै भजनी नगरपालिका–७ पुगेको थियो । त्यसपछि टीकापुर पुगेर प्रधानमन्त्री देउवाले बाढीपीडितका समस्याको दीर्घकालीन समस्या समाधान गर्ने बताउनुभयो । टीकापुरपछि नजिकै रहेको जानकी गाउँपालिकाको खैरीफाट पुग्नुभएका देउवा त्यहाँबाट बर्दियाको राजापुर हुँदै नेपालगञ्ज पुग्नुभयो ।
बाढीपहिरो प्रभावित सुदूरपश्चिमका विभिन्न क्षेत्रको अवलोकन गरी प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं फर्किनुभएको छ । बिहीबार सुर्खेत पुगेर कर्णालीमा भएको क्षतिको विवरण लिनुभएका प्रधानमन्त्री देउवाले बिहीबारै सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाको हवाई निरीक्षण गर्नुभएको थियो । शुक्रबार कैलालीका विभिन्न क्षेत्रको निरीक्षण गरेर बर्दिया हुँदै काठमाडौं आउनुभएको हो ।




















