एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय, बादलको संयोजकत्वमा समिति गठन।

काठमाडौं:= नेकपा (एमाले)को १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यसअघि विधान महाधिवेशनको बेला अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्नुभएको थियो ।

एमालेले आगामी मंसिर १०-१३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले असोज १५-१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठकपछि उहाँले जानकारी दिनुभयो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठक शुक्रबार पुनः बस्ने गरी सकिएको छ ।

नेता ज्ञवालीका अनुसार बैठकले रामबहादुर थापाको सयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल हुनुहुन्छ ।

उहाँका अनुसार सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक-एकजना रहनेगरी मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सदस्यहरूमध्ये १३ जनाको नाम बिहीबार टुंगो लगाइएको र बाँकी आठजनाको नाम शुक्रबार बस्ने बैठकले टुंग्याउने उहाँले बताउनुभयो । बिहीबारको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको कुरासमेत उठेको स्थायी कमिटी सदस्य घनश्याम भुसालले जानकारी दिनुभयो ।

साथै, १० बुँदे सहमतिका विषयमा शुक्रबारको बैठकमा छलफल हुने उहाँले बताउनुभयो । बुधबार एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरू असन्तुष्ट देखिएका छन् । यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष ओलीले १०औँ महाधिवेशन बुटवलमा हुने बताउनुभएको थियो।

मर्कामा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग

एमालेले हालै आएको बाढी, पहिरो, हिमपात र डुबानलगायत प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ । त्यसैगरी, प्राकृतिक विपत्तिमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकले विपत्तिमा परेकाहरूलाई राहत र उद्धारको कार्यमा जुट्न पार्टीका सिंगो पक्तिलाई आह्वानसमेत गरेको छ ।