प्रधानमन्त्री देउवाद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण।

प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिमका विभिन्न क्षेत्रको निरीक्षण गर्नुभएको हो। काठमाडौंबाट सुर्खेत विमानस्थल झर्नुभएका देउवाले त्यहाँबाट सेनाको हेलिकोप्टरमार्फत सुदूरपश्चिम पुगेर विभन्नि बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले बझाङस्थित सेनाकै हलमा जिल्ला प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग बाढीपहिरोले बझाङमा पु¥याएको क्षतिबारे जानकारी लिनुभयो। बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा बझाङको थलारा गाउँपालिका-४ डिख्ला जाने कार्यतालिका रहेको भए पनि खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन सकेन ।

निरीक्षणका क्रममा उहाँले बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिनुभयो । बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गरेपछि प्रधानमन्त्रीसहितको टोली शुक्रबार काठमाडौं फर्किएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको टोली सुरुमा सुर्खेत गएको थियो । बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेल्धुरा हुँदै कञ्चनपुर पुगेर बिफ्रिङ र अवलोकन गर्नुभएको थियो ।

कैलालीसमेतको अवलोकन गरेर देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै काठमाडौं फर्किएको हो । गत आइतबार रातिदेखि परेको पानीले सुदूरपश्चिम क्षेत्रमा जनधनको क्षति पुर्‍याएको छ । बाढीपहिरोमा परेर देशका विभिन्न भागमा १०१ जनाको मृत्यु भएको छ । सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने र घरबारविहीन भएकालाई तत्काल सेल्टर बनाउन ५० हजार र खाद्यान्नलगायत जोहो गर्न २० हजारसम्म नगद उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहनुभएको छ । प्रधानमन्त्री देउवाले बाढीपहिरोबाट प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने बताउनुभएको छ ।

बाढीपहिरोले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम जानुअघि प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको भन्दै समयमै राहत उपलब्ध गराउने बताउनुभयो ।

उहाँले एक्कासि आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पु¥याएकोमा आफू दुःखी बनेको बताउनुभयो । प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा बाढीपहिरोले कर्णाली प्रदेशमा पुर्‍याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिनुभएको थियो ।