बागमती प्रदेशमा एमाले ढल्यो, एकीकृत समाजवादी र कांग्रेसले आलोपालो नेतृत्व गर्ने।

हेटौँडा:= बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन्। बिहीबार दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो । सुरुमा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्नेछ ।

नेकपा एमाले नेतृत्वको वर्तमान सरकारले विश्वास गुमाएपछि सुरुमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुने भएको हो । प्रदेशसभा बैठकमा गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले शाक्यलाई विश्वासको मत दिन नसक्ने बताउनुभयो ।

उहाँले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा एकीर्कत समाजवादीका पाण्डेलाई प्रस्ताव गर्नुभयो । दलको तर्फबाट बोल्दै नेता जम्कट्टेलले पाण्डे अबको मुख्यमन्त्री बन्ने गठबन्धनको सहमति रहेको बताउनुभयो । उहाँले अहिलेको सरकारका मन्त्रीहरूमा पीडाबोध जस्तो महसुस भएको र मुख्यमन्त्रीमा पनि ऊर्जा नभएको जस्तो भान भएको बताउनुभयो ।

यसैगरी, नेपाली कांग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अल्पमतमा परिसकेको सरकारले भ्रमको राजनीति गर्दै लोभको खेती गर्दै यो सरकार अघि बढेको भन्दै गठबन्धनको सरकारले जनताको नजिक रहेर काम गर्ने बताउनुभयो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले आफूहरूले यो व्यवस्था र संविधान रक्षाका लागि गठबन्धन बनाएको बताउनुभयो । उहाँले आफ्नो दलले मुख्यमन्त्री शाक्यलाई साथ नहुने बताउँदै समय नलम्बाइ सभामुखलाई प्रक्रियामा नयाँ सरकार बनाउनको लागि आग्रह गर्नुभयो ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्रीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३९ दिन भइसकेको पनि स्मरण गराउनुभयो।

सरकारको आयु ६ दिन लम्बियो

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कात्तिक १० सम्म लम्ब्याइएको छ । अल्पमतमा परिसकेको अवस्थामा समेत मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी छलफल गर्दै बैठक मिति सारिएको हो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कात्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गर्नुभयो । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको अवस्थामा प्रदेशसभा बैठक पर सारिएको हो ।

छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले आफूलाई सहयोग गर्न सबै दललाई आग्रह गर्दै प्रदेश सरकारले गरेका कार्यक्रम तथा योजनाबारे सभामा प्रस्तुत गर्नुभएको थियो । अल्पमतमा रहनुभएकी मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित छ । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ४३ सांसद मात्रै छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो । जबकि विश्वासको मत पाउन ५५ सांसदको साथ चाहिन्छ ।

मुख्यमन्त्री निरन्तर बन्न प्रस्ताव आए तर नैतिक रूपमा त्यसो गर्न चाहिनँ : शाक्य

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीमा निरन्तर हुन विभिन्न प्रस्ताव आए पनि आफूले अस्वीकार गरेको दाबी गर्नुभएको छ । प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराउनुभएकी मुख्यमन्त्री शाक्यले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन विभिन्न प्रलोभन आए पनि आफूले नैतकिताका आधारमा विश्वासको मत लिने बाटो रोजेको बताउनुभयो ।

‘प्रदेशमा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री भएपछि दल विभाजनसम्बन्धी अध्यादेशका कारण सरकार अल्पमतमा प¥यो,’ बिहीबार प्रदेशसभामा उहाँले भन्नुभयो, ‘त्यसपछि पनि मलाई मुख्यमन्त्रीमा निरन्तरता दिने प्रलोभनसहित विभिन्न प्रस्ताव आएका थिए । तर, मैले त्यसलाई स्वीकार गरिनँ । नैतिकताका आधारमा विश्वासको मत लिने बाटो रोजेकी छु ।’ शाक्यले आफ्नो कार्यकाल दुई महिना मात्र भए पनि राम्रो काम गरेको दाबी गर्नुभयो ।