काठमाडौं:= नेकपा (माओवादी केन्द्र)ले पार्टीका ३३ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ । स्थायी कमिटीको बिहीबारको बैठकले विभाग र प्रतिष्ठानको नेतृत्व चयन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रत्येक विभागमा अध्यक्षसहित ३५ सदस्य रहने महराले बताउनुभयो । त्यस्तै, सम्पर्क समिति गठन गर्ने र विपद् व्यवस्थापन विभाग गठन गर्नेबारे छलफल भएको उहाँले जानकारी दिनुभयो ।
अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन रहनुभएको छ भने उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृकाप्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल हुनुहुन्छ । यस्तै, कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा विना मगर रहनुभएको छ ।
त्यस्तै, जलस्रोत, सिञ्चाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानव अधिकार विभागमा मुक्ति प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ रहनुभएको छ ।
त्यसैगरी, स्कुल विभागको प्रमुखमा गिरिराजमणि पोखरेल तथा इञ्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ । पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, वन तथा वातावरण विभागमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह र विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।
यस्तै, शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संगठन विभागमा जनार्दन शर्मा, संघीय संसदीय विभागमा देवप्रसाद गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य, कला तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तथा विकास विभागमा उर्मिला अर्याल र स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमलालाई संयोजक तोकिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।
पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको पनि प्रवक्ता महराले बताउनुभएको छ । उहाँले अबको एक हप्तामा पार्टी सदस्यताको काम पूरा हुने बताउनुभयो । उहाँले राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखिएको पनि जानकारी दिनुभयो ।
रिफ्रेस हुन सुकुटेमा प्रचण्ड

पारिवारिक र राजनीतिक ‘ह्याङ’ भएपछि ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे आउने गर्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पनि सुकुटे आउनुभएको छ ।
बिहीबार दिउँसो करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड सुकुटेस्थित भोटेकोशी बिचरिसोर्टमा आइपुगेको होटलले जनाएको छ । होटेल आइपुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयका लागि जलशयर (¥याफ्टिङ)समेत गर्नुभएको थियो ।
प्रचण्डसँग माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुबोध तथा वाइसिएल पूर्व-अध्यक्ष दीपशिखासमेत रहनुभएको छ । तीनैजना सिन्धुपाल्चोककै माओवादी नेता हुनुहुुन्छ ।
यसअघि, सिन्धुपाल्चोक आएर सुकुटेको इक्वेडर रिसोर्टमा बस्ने गर्नुभएका प्रचण्ड पहिलोपटक भोटेकोशी बिचरिसोर्ट, सुकुटेमा बस्नुभएको हो ।




















