इनरुवा सबस्टेसन डुबानपछि विद्युत् अवरुद्ध।

काठमाडौं:= अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज) लक्ष्यका साथ दुवै  सबस्टेसनको काम भइरहेको थियो ।

बाढीले सबस्टेसनको कम्पाउन्ड वाल बगाएको छ भने जडानका लागि राखिएका उपकरण डुबेका छन् । बाढीले केही उपकरण बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकाले क्षति पुर्‍याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र कामदारलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत् सुरक्षित स्थानमा सारिएको छ ।’

घिसिङका अनुसार ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै ट्रान्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरू निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुबानमा परेकाले उपकरणमा क्षति पुगेको छ । त्यसैगरी अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा परेको छ । प्रदेश १ का जिल्लामा विद्युत् आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुबानमा परेपछि  मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको प्राधिकरणले जनाएको छ  ।

सबस्टेसन डुबानमा परेपछि अहिले त्यहाँबाट विद्युत् आपूर्ति हुने लाइन काटिएको  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ । तर, पानी हटाएर जतिसक्दो छिटो विद्युत् आपूर्ति उपलब्ध गराउन प्राधिकरणको टिम लागिरहेको पनि उहाँले जानकारी दिनुभएको छ । प्राधिकरणका अनुसार दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको छ, जसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि बन्द भएको छ ।

त्यस्तै वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया-चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको बताइएको छ । जसका कारण दार्चुलामा सञ्चालनमा रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको छ । सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत् आपूर्ति पनि बन्द भएको छ ।