पेरिस:= लियोनल मेसीले दुई गोल गर्दा च्याम्पियन्स लिग फुटबलमा पिएसजीले आरबी लाइपजिङमाथि ३–२ को जित हासिल गरेको छ । केलियन एम्बाप्पेले सुरुवातमै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभएको थियो । उहाँले काउन्टर एट्याकमा आकर्षक गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, आन्द्रे शिल्भाले एन्जेलिनोको क्रसलाई सदुपयोग गर्नुभएको थियो ।
पहिलो हाफ एक÷एकको बराबरी भएको खेलमा दोस्रो हाफमा लाइपजिङले अग्रता बनायो । ५७औं मिनेटमा एन्जेलिनोकै पासलाई नोर्दिक मुकिएलले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । तर, पिएसजीका लागि अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले उत्कृष्ट प्रदर्शन जारी राख्दै गोल गर्नुभयो । मेसीले ६७ औं मिनेटमा गरेको प्रहार पोलमा लागेर फर्किए पनि उहाँले नै रिबाउन्डमा आकर्षक ट्यापिङ गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
त्यसको सात मिनेटपछि मेसीले पेनाल्टीमार्फत् टिमलाई अग्रता दिलाउनुभयो । पिएसजीले खेलको इञ्जुरी समयमा अर्को पेनाल्टीको अवसर पायो । हृयाट्रिकको अवसरमा रहनुभएका मेसीले उक्त मौका एम्बाप्पेलाई दिनुभएको थियो । तर, एम्बाप्पेको प्रहार आकासिँदा पिएसजी थप गोल गर्न असफल रहृयो । जितपछि फ्रेन्च टोली पिएसजीको सात अंक भएको छ। च्याम्पियन्स लिगको समूह ‘ए’ मा शीर्षस्थानमा पुगेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६ अंक छ ।
यही सिजन बार्सिलोनाबाट पिएसजी पुग्नुभएका मेसीले कुल १२३ औं च्याम्पियन्स लिगमा गोल सम्भव बनाउनुभयो । लाइपजिङसमेत गर्दा उहाँले च्याम्पियन्स लिगमा ३७ टोलीविरुद्ध गोल गर्नुभएको थियो । उहाँले जारी सिजन च्याम्पियन्स लिगमा तीन गोल गरिसक्नुभएको छ । यसअघि म्यानचेस्टर सिटीलाई पराजित गर्दा उहाँले एक गोल गर्नुभएको थियो ।




















