नेपाल बसाइ लम्ब्याउने अल्मुताइरीको संकेत।

काठमाडौं:= नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल बसाइ लम्ब्याउने संकेत गर्नुभएको छ । साफ च्याम्पियनसिपमा बंगलादेशसँगको खेलपछि कहिल्यै नेपाल नफर्किने घोषणा गर्नुभएका अल्मुताइरीले नेपाल बसाइ लम्ब्याउने संकेत दिनुभएको हो ।

अल्मुताइरीले गएको असोज २७ गते साफ च्याम्पियनसिपको फाइनल खेल अन्तिम भएको र आफू कहिल्यै नेपाल नफर्किने घोषणा गर्नुभएको थियो । उहाँ माल्दिभ्सबाट नेपाल नआएर सिधै कतार जानुभएको थियो ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतारमा मुख्य प्रशिक्षक अल्मुताइरीसँग वार्ता गर्नुभएको छ । अध्यक्ष शेर्पाले प्रशिक्षकसँगको वार्ता सकारात्मक भएको बताउनुभएको छ ।

शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा अल्मुताइरीसँगको तस्बिर राखेर लेख्नुभएको छ, ‘नेपाली राष्ट्रिय टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल ।’