काठमाडौं := अविरल वर्षासँगै आएको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुःख व्यक्त गर्नुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै उपसभापति निधिले यो विपद्को घडीमा उद्धार र राहतको कार्यलाई शीघ्रातीशीघ्र अघि बढाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘बाढीका कारण जोखिममा परेका व्यक्तिहरूलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, यो विपतको घडीमा प्रदेश र स्थानीय सरकारहरूलाई आ-आफ्नो ठाउँबाट उद्धार र राहतमा जुट्न आग्रह गर्दछु । देशभरका पार्टीका साथीहरूलाई पनि बाढीपहिरो पीडितको उद्धारमा जुट्न आह्वान गर्दछु ।’
यसैगरी बाढीपहिरो र वर्षाका कारण अवरुद्ध सडक, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभएको छ । वर्षाले अन्नबाली नष्ट गरेको भन्दै निधिले क्षतिको अध्ययन गरी पीडित किसानलाई राहतको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।




















