भैरहवा:= मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्ने तथा कब्जा गर्न उक्साउने गिरोहका मुख्य आरोपित नाईकेलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सरकारी जग्गा कब्जा गर्ने तथा कब्जा गर्न उक्त स्थानमा गैर कानुनी रुपमा भेला गराउने तथा असोज २४ गते ४ जनाको ज्यान जाने गरी घटेको घटनाका मुख्य आरोपित दोषिलाई पक्राउ गरेको हो।
जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठकद्वारा निषेधित क्षेत्र घोषणा भई निर्णय कार्यान्वयन गर्ने गराउने सम्बन्धमा असोज २४ मोतिपुरको घटनामा प्रत्यक्ष संलग्न कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका–६ स्थायी घर भई हाल बुटवल ११ देवीनगरमा डेरामा बस्ने ४४ बर्षिय साविर अलि मुसलमानलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीले मुसलवानमाथि सरकारी जग्गा अतिक्रमणको लागि मानिसहरूलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईनटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गर्दै आएको आरोप लगाएको छ । मुसलवानलाई कार्तिक १ गते सोमबार राती साढ ८ बजे डेराबाटै नियन्त्रणमा लिएको र मंगलबार ईलाका प्रहरी कार्यालय बुटवल बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनुभयो ।
उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्धा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनका लागि म्याद थप भई अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनुभयो ।
मुसलमानको डेराबाट ब्यानर तीन थान, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरू १३ थान, बस्ती विकासको सहयोग रसिद दुई थान फेला परेको र सो घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।




















