[ डिबी शर्मा ]
कैलाली := लगातारको वर्षाले सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा ठूलो जनधनकोे क्षति गरेको छ । आइतबार रातिदेखि निरन्तर परिरहेको झरीले भित्र्याउन ठिक्क पारेको हजारौँ बिघाको धानबाली सखाप पारेको छ । किसानले हजारौँ बिघामा लगाएको धानबाली पानीले सखाप पारेपछि किसान ठूलो मर्कामा परेका छन् । सुदूरका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी चारजनाको ज्यान गएको छ भने सयौँ घर डुबानमा परेका छन् । कैयौँ बेपत्ता छन् । बाढी र पहिरोले ठूलो जनधनको क्षति गरे पनि यकिन विवरण आउन बाँकी छ । मंगलबार अबेरसम्म प्राप्त विवरणअनुसार पहिरोमा परी सुदूरपश्चिममा चार गरी देशभर ६ जनाले ज्यान गुमाएका छन् । डोटीमा दुईजना डडेल्धुरा र कैलालीमा एक÷एकजनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कैलालीमा खोलाले बगाउँदा गोदावरी-८ का एकजनाको, डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ भात्काँडामा पहिरो जाँदा स्थानीय ३० वर्षीया विष्णु अवस्थी र उहाँकी ६ वर्षीया छोरीको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका-६ स्थित वीरबहादुर कुञ्जेडाको घरमा पहिरो जाँदा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य विभिन्न ठाउँमा बाढी र पहिरोमा मानिसहरू फसेका छन् । वर्षा निरन्तर जारी रहेकोले क्षतिको यकिन विवरण आइसकेको छैन । डडेल्धुराका दुई र कैलालीका एकजना बेपत्ता भएको खबर छ । बझाङमा पहिरोमा परी २३ जना बेपत्ता भएका छन् । सोमबार राति थलारा गाउँपालिका-४ डिख्लामा गएको पहिरोमा परी २३ जना हराएका हुन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । बाढी र पहिरोका कारण ठाउँ-ठाउँका सडक अवरुद्ध भएका छन् । पहिरो हटाएर सडक खुलाउँदै गरे पनि पुनः अवरुद्ध हुने क्रम रोकिएको छैन ।

त्यस्तै, सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान-१३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीया छोरी निसु र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो । मंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट आएको पहिरोले घरभित्र रहेका दुई बालबालिकालाई बेपत्ता बनाएको थियो । उद्दार टोलीले खोजी गर्दा साढे ३ बजे मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

नदीमा उच्च बहाव, तटीय क्षेत्रमा खतरा
लगातारको वर्षापछि सुदूरपश्चिम भएर बग्ने विभिन्न नदीमा पानीको बहाव उच्च भएको छ । विभिन्न नदीले खतराको तह पार गरेको प्रहरीको भनाइ छ । कर्णाली, सेती र महाकालीलगायत नदीमा हालसम्मकै उच्च बहाव मापन गरिएको छ । कर्णाली नदीको बहाव सात वर्षयताकै उच्च तहमा पुगेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार २०७१ सालपछि सबैभन्दा बढी कर्णालीमा बहाव देखिएको हो । नदीको बहाव मंगलबार १२ मिटरमाथि पुगेको हो । यसअघि २०७१ मा पानीको बहाव १६ मिटरसम्म पुगेको थियो । पौने ११ मिटर बहाव पुगेपछि खतरा नाघेको मानिन्छ ।

कर्णालीको बाँध फुटेर रानी जमरा नहरमा पानी पसेको छ । नदीमा आएको उच्च बाढीले निर्माणाधीन अवस्थाको रानीजमरा कुलरिया सिञ्चाइ आयोजनाको बाँध भत्किएको हो । रानी जमरा कुलरिया सिञ्चाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिका र टीकापुर क्षेत्र जोखिममा परेका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जानकी गाउँपालिकामा ‘हाई अलर्ट’ गरिएको छ ।
महाकाली नदीमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । ९२ वर्षयताकै ठूलो जलस्तर महाकाली नदीमा मापन गरिएको हो । मंगलबार दिउँसो २ बजे महाकाली नदीमा पाँच लाख ४७ हजार २२४ क्युसेक पानी मापन गरिएको छ । यसअघि सन् २०१३ मा पाँच लाख ४४ हजार ४७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो । नदीमा पानीको बहाव उच्च भएपछि ९२ वर्षअघि बनेको शारदा ब्यारेज (वनबासा पुल) जोखिममा परेको छ । पुलमा पैदल आवागमनसमेत बन्द गरिएको छ । महाकाली नदीमा आएको बाढीले तटीय क्षेत्र डुबानमा परेका छन् ।

उता सेती नदीमा बाढी आएको छ । नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीका कारण पुलमा आवतजावत बन्द गरिएको छ भने दर्जनौँ घर डुबानमा परेका छन् ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा सोमबार रातिदेखि फोन, इन्टरनेट तथा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा विद्युत् पोल ढलेपछि नेपाल टेलिकमले प्रदान गर्ने फोन तथा इन्टरनेट सेवा पूर्णरूपले अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । लगातारको वर्षाले काम गर्न असहज भएको नेपाल टेलिकमको प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ।

उसो त निरन्तरको पानीपछिको बाढी र पहिरोले सुदूरपश्चिमबाहेक अन्य जिल्लामा पनि क्षति पुर्याएको छ । बेनी-जोमसोम सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीमाक्षेत्रबाट सवारीसाधान आउजाउ गर्न सकेका छैनन् । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरीले जनाएको छ । हावापानीले झापामा कम्तीमा ६० हजार मेट्रिकटन धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । लगातारको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ ।
उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन, सुदूरपश्चिम सरकारले विपद् व्यवस्थापनका लागि २५ करोड निकासा दिने :
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा ठूलो वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मंगलबार बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई सो निर्देशन दिनुभएको हो ।
त्यसपछि गृहमन्त्री खाँणले विपद्को जोखिम कम गर्न र विपद्जन्य घटनाबाट मानिसको जिउज्यानको सुरक्षा गर्न मातहतका निकायलाई दिनुभयो । उहाँले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिई काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो । गृहमन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । सुरक्षा निकाय र प्रभावित जिल्लाका सम्बद्ध स्थानीय प्रशासनहरू विपद् व्यवस्थापन कार्यमा जुटेका छन् । विभिन्न जिल्लामा मानिसहरू फसेको क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको अनुरोध आएको र सोही मागअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरोलगायत विपद् व्यवस्थापनका लागि २५ करोड निकासा दिने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्राकृतिक प्रकोप नियन्त्रणका लागि खडा गरिएको विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबारदेखि परेको वर्षापछि आएको बाढी तथा पहिरो प्रभावित जिल्लालाई २५ लाखका दरले बजेट दिने निर्णयसमेत गरिएको छ । उक्त रकम जिल्लास्थित स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा जम्मा गरिनेछ ।
किसानका लागि राहत प्याकेज घोषणा गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्षाका कारण प्रभावित किसानका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । मुलुकभर दुई दिनदेखि जारी वर्षाका कारण ठूलो संख्यामा किसान प्रभावित भएको भन्दै प्रमुख प्रतिपक्षले सरकारसँग राहत प्याकेज घोषणा गर्न माग गरेको हो । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । ‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा नेकपा एमाले असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ,’ एमालेले विज्ञप्तिमार्फत् सरकारलाई भनेको छ, ‘अवरुद्ध यातायातलगायत सेवा तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्ति र संकटमा परेका पर्यटकहरूको तत्काल उद्वार गर्न ध्यानाकर्षण गर्दछ ।’
कहिलेदेखि आउँछ मौसममा सुधार ?
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ । यसबाहेक देशभर वर्षा भइरहेको छ । लुम्बिनी प्रदेश, बागमती प्रदेशलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । आइतबार रातिददेखि निरन्तर भइरहेको वर्षा बुधबारसम्म हुने मौसमविद्हरूको आँकलन छ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर पानी परिरहेको छ । यो प्रणालीको बढी असर सूदूरपश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा ठूलो वर्षा भएको छ । बिहीबारदेखि भने मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । यता गृह मन्त्रालयले पनि बुधबारसम्म वर्षा जारी रहने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । हाल बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।




















