भारतको नेसनल डिफेन्स कोर्सको भ्रमण दलद्वारा जंगी अड्डा भ्रमण।

काठमाडौं:= भारतको नेसनल डिफेन्स कोर्सको भ्रमण दलले जंगी अड्डा भ्रमण गरेको छ । भारतमा सञ्चालित नेसनल डिफेन्स कोर्स २०२१ को धिरेन भिआइजीको नेतृत्वमा रहेको भ्रमण दलले जंगी अड्डाको भ्रमण गरेको हो ।

असोज ३१ गतेदेखि नेपाल भ्रमणमा रहेको भ्रमण दलले मंगलबार प्रधानसेनापति प्रभुराम शर्मासँग समेत भेटवार्ता गरेको छ । भेटवार्तापश्चात् नेपाली सेनासम्बन्धी विषयहरूमा प्रस्तुतीकरण र अन्तरक्रियाको कार्यक्रम सम्पन्न भएको जंगी अड्डाले जनाएको छ ।

कार्यक्रमको सुरुवातमा प्रधानसेनापति शर्माले आफ्नो मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाबीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोका विषयहरूको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

यस्तै, एक कार्यक्रममा भ्रमण दलमा सहभागी फ्याकल्टी सदस्य तथा तालिमरत शिक्षार्थीहरूका श्रीमतीहरूलाई सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रमसमेत आयोजना गरिएको थियो । अष्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरू समेत समावेश भएको उक्त भ्रमण दल कात्तिक ६ गते भारत फिर्ता हुनेछ ।