न्युजिल्यान्डमाथि अष्ट्रेलियाको ३ विकेटको जित।

एजेन्सी := सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपअघि अभ्यास खेलमा न्युजिल्यान्डमाथि अष्ट्रेलियाले रोमान्चक जित हात पारेको छ । सोमबार राति भएको खेलमा न्युजिल्यान्डमाथि अष्ट्रेलियाले ३ विकेटको जित निकालेको हो ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रन जोडे। त्यस्तै, मार्कस स्टोइनिसले २८ रन तथा कप्तान आरोन फिन्च र मिचेल मार्श २४–२४ रनमा आउट भए ।

एस्टन अगर २३ रनमा क्याच आउट भए भने मिचेल स्टार्क १३ र जोश इंगलिश ८ रनमा अविजित रहे । न्युजिल्यान्डका लागि स्पिनर मिचेल सान्टनरले सर्वाधिक ३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट, टिम साउथी र काइल जेमिसनले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ३७ रन बनाए भने मार्टिन गुप्टिल ३० र ड्याल मिचेल ३३ रन  जोडे । अष्ट्रेलियाका लागि केन रिचर्ड्सनले ३ विकेट लिए भने एडम जाम्पाले २ विकेट, एश्टन अगर र मिचेल स्टार्कले १–१ विकेट लिए ।