नेपालले इतिहास रच्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश।

एजेन्सी := नेपाली राष्ट्रिय फुटबल टोलीले इतिहास रच्दै पहिलोपटक दक्षिण एसियाली प्रतिष्ठित फुटबल प्रतियोगिता (१३ औं साफ च्याम्पियनसिप)-२०२१ को फाइनलमा प्रवेश गरेको छ।

बुधबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ गोलको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो।

बंगलादेशको लागि सुमन रेजाले खेलको ९ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो।

त्यसपछि दबाबमा परेको बंगलादेशविरुद्ध नेपालका अञ्जन विष्टले गोल गरे । ८८ औँ मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गरेका हुन् । योसँगै नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको छ । यसअघि साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी थियो।

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । नेपालले समूह चरणको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० र दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो भने तेस्रो खेलमा भारतसँग १-० ले स्तब्ध बनेको थियो।

अब नेपालले उपाधिका लागि आज हुने दोस्रो खेल माल्दिभ्स र भारतबीचको विजेतासँग भिड्नेछ। आजको दोस्रो खेलमा माल्दिभ्सले बराबरी मात्र खेले फाइनलमा पुग्नेछ भने भारतले भने खेल जित्नै पर्ने दबाब छ । साफको फाइनल खेल आगामी शनिबार राति हुनेछ।