म महानायिका होइन : रेखा थापा।

काठमाडौं:= अहिले नेपाली चलचित्र क्षेत्र महानायक र महानायिका विषयलाई लिएर चर्चामा छ । विनाकारण चर्चामा आएको यो विषयबारे कलाकारहरू बोलिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताउनुभएका भुवन केसी, शिव श्रेष्ठ र शोभित बस्नेतले एक कार्यक्रममा महानायक र महानायिकाको विषयमा बोलेका शब्दले ठूलो रूप लियो ।

नेपाली जनताले भने अभिनेता राजेश हमाललाई महानायक मान्दै आएका छन् । यसैबीच केही कलाकारले यस विषयमा आआफ्नो राय राख्दै आउनुभएको छ । कतिले महानायक उपाधिको हकदार राजेश हमाल नभई भुवन केसी रहेको तर्क राख्दै आउनु भएको छ । यस्तै एक संस्थाले करिश्मा मानन्धरलाई दिएको महानायिका उपाधिमाथि पनि प्रश्न उठ्दै आएको थियो । दर्शक र फिल्मकर्मीको एउटा ठूलो समूह भने राजेश हमाललाई ‘महानायक’सँगै रेखा थापालाई ‘महानायिका’ मान्ने गर्छ ।

तर, अभिनेत्री थापाले उपाधिलाई लिएर चलचित्र क्षेत्रमा चलेको विवाद व्यर्थको रहेको र आफू ‘महानायिका’ नरहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘दर्शकको मतलाई म सम्मान गर्छु । तर, कलाकार सधैं सिकारु हुन्छ । मैले अझै धेरै सिक्न बाँकी छ । हामी नवरसमा काम गर्छौं । हामी सिकिरहने मान्छेहरू हौं । एउटा फिल्ममा जस्तो अर्को फिल्ममा चरित्र र अभिनय एउटै हुँदैन ।’

रेखाले आफूहरू मान्छे नै हुन नसकेको बताउँदै ‘महान्’ भन्ने शब्दलाई पुष्टि गर्न यो जुनीमात्र पर्याप्त नहुने बताउनुभएको छ । अहिले चलचित्र क्षेत्रमा चलेको उपाधि विवाद बारे उहाँ अगाडि भन्नुहुन्छ, ‘यो विवादको कुनै अर्थ छैन । खाली समयपास जस्तो भइरहेको छ । दर्शकहरूले यस्तो विवादलाई वेवास्था गरिदिए राम्रो हुन्छ ।’ उहाँले आफू असल मान्छे बन्ने प्रयासमा हिँडेको बताउनुभएको छ ।