आइपिएल क्रिकेटको प्लेअफ समीकरण पूरा।

दुबई (युएई):= इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार भएका लिगका अन्तिम दुई खेलसँगै प्लेअफ समीकरण पूरा भएको हो । प्लेअफमा चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकाता नाइट राइडस पुगेका छन् ।

फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आइतबार चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अवसर पाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।

लिगमा दिल्ली १४ खेलमा २० अंकका साथ शीर्षस्थानमा रहृयो । चेन्नई १४ खेलमा १८ अंकका साथ दोस्रो स्थानमा रहृयो । तेस्रो स्थानको बेंग्लोर र चौथो स्थानको कोलकाता नाइट राइडर्सबीच सोमबार शाहजाहमा खेल हुनेछ । बेंग्लोरको १४ खेलमा १८ अंक भए पनि नेटरनरेटका आधारमा तेस्रो स्थानमा रहेको हो ।

दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरका विजेताबीच बुधबार प्रतिस्पर्धा हुनेछ । शुक्रबार फाइनल हुनेछ । चेन्नईले हालसम्म तीनपटक आइपिएल उपाधि जितेको छ । आठपटक आइपिएल फाइनल खेलेको छ ।

चेन्नईले २०१०, २०११ र २०१८ को आइपिएल जितेको थियो । २००८, २०१२, २०१३, २०१५ र २०१९ मा चेन्नई उपविजेतामा सीमित भएको थियो । दिल्लीले गत वर्ष पहिलोपटक आइपिएल फाइनलमा खेले पनि मुम्बईसँग पराजित हुन पुगेको थियो । बेंग्लोरले हालसम्म उपाधि जितेको छैन । बेंग्लोरले २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो । कोलकाताले फाइनल पुगेको दुवै उपाधि जितेको छ । कोलकाताले २०१२ र २०१४ मा उपाधि जितेको थियो ।

यस्तै साबिक विजेता तथा पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्स लिग चरणबाटै बाहिरिएको छ । शुक्रबार राति अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले पराजित गरे पनि नेट रनरेटका आधारमा कोलकाताभन्दा पछि पर्दै बाहिरिएको हो ।

जितका लागि २३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९३ रन बनायो । मुम्बईलाई प्लेअफमा पुग्न हैदराबादलाई ६५ रनमा अलआउट अर्थात् १७१ रनले हराउनै पर्ने समीकरण थियो । तर, उसले उक्त लक्ष्य हासिल गर्न सकेन ।

यसअघि मुम्बईले २०१३, २०१५, २०१७, २०१९, २०२० मा उपाधि जितेको थियो । कोलकाता र मुम्बईको समान अंक भए पनि नेट रनरेटले पछि पर्दै पाँचौं स्थानमा रहेर बाहिरिएको हो ।