सत्यममा पल र मलिकाको जोडी बाँधिने।

काठमाडौं:= अभिनेता राजेश हमालको मुख्य अभिनय रहने नयाँ नेपाली चलचित्र ‘सत्यम’मा पल शाह र मलिका महतको जोडी बाँधिने भएको छ । चलचित्रका लागि मलिकाले निर्माण टिमसँग सम्झौता गरिसक्नुभएको छ । गतवर्ष ‘फूलबुट्टे सारी’ गीतको भिडियोपछि पल र मलिकाको जोडीलाई दर्शकले अत्यधिक मन पराएका छन् र अन्य चलचित्रबाट पनि अफर आइरहेको छ ।

चलचित्र ‘यात्रा’बाट अभिनेत्रीको रूपमा डेब्यु गर्नुभएकी मलिकाले यसपछि चलचित्र ‘पानीफोटो’ मा काम गर्नुभएको थियो । यो चलचित्र प्रदर्शनमा आउन बाँकी छ । कोरोनाकालमा अभिनय गरेको म्युजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिनु भएकी उहाँको यतिबेला चलचित्र र म्युजिक भिडियोमा ठूलो माग छ । ‘सत्यम’ को कथावस्तु र आफ्नो भूमिका मन परेपछि उहाँ काम गर्न राजी हुनुभएको हो ।

शंकर कार्कीको निर्देशनमा बन्न लागेको यस चलचित्रमा अनुपविक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको अभिनय रहनेछ । पर्दामा दर्शकले राजेश हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । यसअघि उहाँहरूले चलचित्र ‘सौर्य’मा एकसाथ अभिनय गर्नुभएको थियो । चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम’लाई रेशम सापकोटाले लेख्नुभएको हो । यस्तै सापकोटा नै चलचित्रका निर्माता हुनुहुन्छ । गणेश पौडेल एसोसिएट निर्माता रहेको चलचित्रका सहनिर्माताहरूमा श्याम मल्ल र कृष्ण जोशी रहनुभएको छ । त्यस्तै, लाइन प्रोड्युसरमा रेशम गौतम, सुवास भुर्तेल र कृष्ण अधिकारी हुनुहुन्छ । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब व्याण्डको शीर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सहसंगीत, रेशम सापकोटा र विष्णु निरिशको शब्द रचना, अञ्जु पन्त, योगेश काजी, समीक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रको डिओपीमा विदुर पाण्डे ‘नवीन’ हुनुहुन्छ ।

आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महŒवपूर्ण सिनहरू छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधीन भव्य सेटमा हेलिकप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरूको दृश्यहरू छायांकन गरिनेछ ।