बेजिंग:= चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने बताउनुभएको छ । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
राजतन्त्र अन्त्य भएको ११०औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुनःएकीकरणको मार्ग पछ्याउने प्रतिज्ञा गर्नुभयो । चीनको पुनःएकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको भन्दै उहाँले आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरूको दुःखद् अन्त्य हुने चेतावनी दिनुभयो ।
हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनः एकीकरण गर्न चाहेको उहाँले बताउनुभयो । राष्ट्रपति सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र बाहृय हस्तक्षेप अस्वीकार्य हुने पनि प्रष्ट पार्नुभयो । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको हो ।
राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरूको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न नहुने बताउँदै राष्ट्रपति सीले कुनै हालतमा चीनको पुनः एकीकरण गरिने दाबी गर्नुभयो।




















