कात्तिकको दोस्रो साताबाट रियालिटी सो ‘द भ्वाइस किड्स’

काठमाडौं:= संसारका १ सय १३ देशमा फ्रेन्चाइज शोको रूपमा सञ्चालन भइरहेको रियालिटी सो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि आएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनबाट द भ्वाइस किड्स प्रसारण हुने जानकारी दिइएको छ । ‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी हुनुहुन्छ ।

‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्री-अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । डिजिटल अडिसनमा १० हजारभन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्षभन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन्।

शोका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीकोभन्दा विलक्षण रहेको सुनाउनुभयो । उहाँले, आफूहरूले बालबालिकाको प्रतिभा विश्वमाझ पुर्‍याउन यो शो तयार पारेको बताउनुभयो । कार्यक्रममा उपस्थित कोचहरू राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभूति भइरहेको बताउनुभयो ।