दशैँ पर्व , हाम्रो खानपान र माछा-मासु।

[ नवीनकिरण भुसाल ]

नेपालीहरूको महान् पर्व दशैँ हाम्रो घरआँगनमा आइपुगेको छ । २१ गते बिहीबारदेखि सुरु भएको दशैँ केही दिन हाम्रो घरआँगनमा रहँदै छ । दशैँमा देवी दुर्गाको पूजाआजा गर्ने गरिन्छ । दशैँ हाम्रो आफ्नै मौलिक पर्वका रूपमा रहेको छ । यसमा नौ दिनसम्म देवी दुर्गा माताको विशेष आराधान गरिन्छ भने सप्तमी, अष्टमी र नवमीका दिनमा बोका, राँगाको बलि चढाउने प्रचलन रहिआएको छ । यस्तै दशमीका दिनमा आफूभन्दा ठूला मान्यजनका हातबाट टीकाजमरा ग्रहण गर्ने गरिन्छ ।

दशैँमा प्रायः नेपालीका घरमा माछामासु पाक्ने गर्छ । मिठो खाने र राम्रो लाउने चाडका रूपमा पनि प्रचलित रहँदै आएको छ दशैँ । दशैँमा धेरै माछामासु खाएर बिरामी भएका घटनाहरू पनि विगतका दिनमा सार्वजनिक हुने गरेका छन् । आउनुहोस् हिमालय टाइम्सको यस दशैँविशेष चर्चामा कस्तो माछामासु खाने भन्नेबारेमा चर्चा गरौँ ।

साधारणतः माछा-मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलितरूपमा उपभोग गर्न नसकेमा स्वास्थ्य समस्या सिर्जना हुन सक्छ । पौष्टिक दृष्टिकोणले माछा-मासु पोषिलो खाना हो । तर, सबैलाई थाहा भएकै कुरा हो कि आवश्यकताभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसका साथै स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनु आवश्यक हुन्छ ।

अझ उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । रातो मासु अर्थात् खसी, भैंसी, सुँगुर आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्तमात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयस्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

कतिपय समुदायले साँस्कृतिक प्रचलन र धार्मिक मान्यताअनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम प्रयोग गर्नु नै राम्रो हुन्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरैमात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

त्यसैगरी, विभिन्न अंगका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुका परिकारका रूपमा प्रयोग गरिन्छ । यी अंगका मासुमा कोलेस्टेरोलका साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केहीमात्रामा भिटामिन ‘बी’ पनि पाइन्छ । तामा, लौहतत्व, जिंकजस्ता खनिज तत्व पनि यी अंगमा प्रशस्तमात्रामा पाइन्छ । कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहोरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो हुन्छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।

सेतो मासु :

सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुंगीको मासु भन्ने बुझिन्छ । यसप्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अंगको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक-फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ ।

यसैगरी, छालासहित कुखुराको खुट्टा, पखेटा आदिमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कममात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खाने समयमात्र छाला निकाल्दा राम्रो हुन्छ ।

कुखुरा र टर्कीको मासुमा झण्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै प्रकारको चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दाँजोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्न सके स्वास्थ्यका लागि फाइदाजनक साबित हुन्छ ।

सफा वातावरणमा उत्पादन भएका चराचुरुंगीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ । पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो मानिन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रशस्तमात्रामा हुन्छ ।

विशेषगरी यसमा भिटामिन ‘बी-१’, ‘बी-३’, ‘बी-६ र भिटामिन ‘डी’ प्रशस्त हुनुका साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओमेगा-३ फ्याटी एसिड पनि हुन्छ ।

माछा र ओमेगा-३ फ्याटी एसिड : केही माछामा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले प्रायः खानामा संलग्न गरिँदैन । तर, कोलेस्टेरोलको मात्रा धेरै भए पनि फ्याटी एसिडको मात्रा कम हुने भएकाले माछालाई सधैं बार्नुपर्छ भन्ने हुँदैन । जस्तै- माछा पखाल्दा, काट्दा तथा पकाउँदा सावधानी अपनाउन सके हानिकारक कीटाणु नष्ट हुन्छन् ।

माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुका साथै यसमा पाइने स्वस्थकर चिल्लो पदार्थ ओमेगा-३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ । ओमेगा-३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न सहयोग गर्छ ।

यसबाहेक ओमेगा-३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । ठूलो र मोटो प्रकारको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमितरूपमा माछा खाने मानिसलाई मुटुसम्बन्धी रोगको सम्भावना कम हुन्छ भन्ने गरिन्छ ।

गत वर्ष कोरोना संक्रमणका कारण दशैँमा पारिवारिक जमघट केही कम भयो । यसपालि कोरोना संक्रमण कायमै रहे पनि संक्रमणको दर केही कम भएको र कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका विभिन्न उपाय तथा यसका विरुद्धको खोपले यसको संक्रमण दरमा पछिल्ला दिनमा धेरै कमी आएको छ । यसले गर्दा यसपालिको दशैँमा पारिवारिक भेटघाट गर्न सहज भएको छ ।

फेरि पनि स्वास्थ्यको ख्याल गर्दै हामीले यसपालिको दशैँ मनाउनुपर्ने छ । आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गर्दै दशैँ मनाऔँ, पारिवारिक जमघटलाई उत्सवका रूपमा लिँदै आपसी सद्भाव बाडौँ । खानपानमा विशेष ध्यान पुर्‍याऔँ । बडादशैँ २०७८ को अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना । स्वस्थकर खाना खाऔँ । स्वस्थ दशैँ मनाऔँ ।