‘तिम्रै हुन मन लाग्यो’ मा प्रकाश र मिरुनाले अभिनय गर्ने।

काठमाडौं:= गायिका मेलिना राईको स्वरमा ‘तिम्रै हुन मन लाग्यो’ गीत सार्वजनिक गरिएको छ । जसमा वसन्त सापकोटाको संगीत र शब्द रहेको छ । गीतको भिडियोमा गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगरले अभिनय गर्नुभएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

‘तिम्रै हुन मन लाग्यो’ गीतको भिडियोलाई कैलाश राईले निर्माण गर्नुभएको हो । सिक्किमका व्यवसायी राईले यसअगाडि ‘मैं सावले’ जस्तो सफल गीतको भिडियो निर्माण गर्नुभएको थियो। कार्यक्रममा वसन्त, प्रकाश र मिरुनाले अडियो तथा भिडियो राम्रो बनेको भन्दै दर्शकको साथ मिल्ने आशा राख्नुभयो ।

बन्दीपुरमा पाहुना बनेर पुगेका प्रकाश र उहाँको स्वागतमा नृत्य गर्ने मिरुनाको जोडी भिडियोमा सुहाएको छ । देवेन्द्र बब्लुको निर्देशनमा बनेको भिडियोलाई अनिल के मानन्धरले खिच्नुभएको हो भने प्रवीण भट्टको सम्पादन रहेको छ ।