महँगियो नेपालीको दशैँ, मारमा मध्यम र निम्न वर्गीय परिवार।

काठमाडौं:= गत वर्षको दशैँ कोरोना महामारीका कारण घरभित्रै सिमित भयो । मानिसहरूले घरभित्रै बसेर दशैँ मनाए । यस वर्ष पनि महामारीको जोखिम पूर्णरूपमा टरेको छैन । तर, पोहोरको तुलनामा निकै कम छ । कोरोनाविरुद्धको खोप, संक्रमणदर ओरालो लाग्नु तथा निषेधाज्ञा खुकुलो हुनुलगायतका कारण यो वर्षको दशैँ पोहोरको भन्दा भव्य रूपमा मनाउने अधिकांशको तयारी छ । तर, बन्दाबन्दी वा निषेधाज्ञा नभए पनि आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्ने जिम्मेवारी हामीमाथि छ । स्वास्थ्य मापदण्ड पालना गर्ने र कोरोना संक्रमणबाट बच्ने उपाय आफैँले अपनाउनुपर्ने छ ।

चहलपहल बढ्यो, व्यापार बढेन

बजारमा दशैँको चहल पहल सुरु भएको छ । काठमाडौं उपत्याकाका मुख्य-मुख्य व्यापारिक केन्द्र तथा फुटपाथमा समेत मानिसहरूको भिडभाड बढेको छ । खाद्यान्न पसलदेखि कपडा पसलेसम्म व्यस्त छन् । खसी बजारमा मानिसहरूको भिड उस्तै छ । बजारमा दशैँको किनमेल गर्नेको भिड देखिए पनि व्यापार भने अघिल्ला वर्षजस्तो नभएको व्यापारीहरू बताउँछन् । काठमाडौँको चाबहिलमा कपडा पसल सञ्चालन गर्दै आउनु भएका धादिङका महेश श्रेष्ठ विगतका वर्षका तुलनामा आधा कम मात्रै व्यापार हुने गरेको बताउनुहन्छ । उहाँका अनुसार बजारमा हेर्दा भिडभाड देखिए पनि व्यापार भने सोचेअनुसार छैन । विगतमा लामो समय भएको लकडाउनका कारण व्यापारमा मन्दी आएको हुन सक्ने उहाँको भनाइ छ । ‘लामो समय लकडाउन भयो । मानिसहरूको आम्दानी गुम्यो । कतिले काम गुमाए,’ उहाँले भन्नुभयो, ‘अहिले बजारमा हेर्दा भिडभाडजस्तो देखिन्छ । तर, व्यापार विगतका वर्षभन्दा आधा कम छ । मान्छेहरूले अत्यावश्यक सामान मात्रै किनमेल गरिरहेका छन् । अनावश्यक वा अधिक खर्च गर्न मध्यमवर्गीय मान्छेसँग पैसै छैन ।’

त्यस्तै चाबहिलकै अर्का व्यापारी पनि सोचेअनुसार व्यापार नभएको गुनासो गर्नुहुन्छ । लामो समय कोरोनाले थपिएको व्यापार दशैँमा पनि माथि उठ्न नसकेकोमा उहाँ दुःखी हुनुहुन्छ । ‘निकै लामो समय कोरोनाले थला पार्‍यो । लकडाउनताकाकै भाडा तिर्न बाँकी छ,’ जुत्ता चप्पलको व्यवसाय गर्दै आउनुभएका उहाँले भन्नुभयो, ‘दशैँमा केही आशा थियो, त्यो पनि हुन सकेन । मान्छेहरू आउँछन्, हेरेर जान्छन् । किन्दैनन् । केहीले मात्रै किन्छन् । विगत वर्षमा दशैँताका दैनिक तीस/चालिस हजारको व्यापार हुन्थ्यो । अहिले मुुस्किलले १०/१२ हजार पुग्छ ।’ चाबहिलमा मात्रै होइन दशैँमा ठूलो व्यापार गर्ने काठमाडौंका अन्य क्षेत्रका व्यवसायीको गुनासो पनि उनीहरूकोभन्दा खासै भिन्न छैन । काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरीलगायका क्षेत्रका व्यवसायीले पनि उस्तै गुनासो गर्छन् ।

महँगीको मारमा उपभोक्ता 

गत वर्षको तुलनामा बजारमा हरेक सामानको मूल्य बढेको छ । खाद्यान्नदेखि लत्ता कपडा र जुत्ता चप्पलसम्मको भाउ आकासिएको छ । यो वर्ष नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य गत वर्षको भन्दा दोब्बरले बढेको छ । सबैजसो दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धि भएको छ । बजारमा गत वर्षको भन्दा चामल, दाल, गेडागुडी, फलफूल तथा खाने तेलको मूल्य अत्यधिक बढेको उपभोक्ताको गुनासो छ ।

बजारमा खाने तेलको मूल्य गत वर्षको भन्दा ८० प्रतिशतभन्दा बढीले बढेको छ । उसो त खाने तेलको मात्रै होइन प्रायः सबै खाद्यान्नमा मूल्य बढेको छ । खाद्यान्न मात्रै हाइन लुगा कपडाको पनि मूल्य बढेको छ । जुत्ता-चप्पल पनि महंगिएका छन् । हरियो तरकारी र फलफूलको मूल्य छोइनसक्नु भएको छ । होलसेल बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । जस्तो दैनिक भान्छामा प्रयोग हुने जिरा र धनियाँ, हरियो धनियाँ, हरियो प्याज, लसुनको मूल्यमा अचाक्ली वृद्धि भएको छ ।

बजारमा बढेको महँगी देखेर उपभोक्ता वाक्कदिक्क छन् । कतिपय सामानमा दोब्बर बढी मूल्यवृद्धि भएपछि उपभोक्ताले किनमेलको सूची नै घटाउनुपर्ने बाध्यता छ । चाबहिल बजारमा भेटिनुभएकी निर्मला गुरुङले महँगीका कारण किनमेलको सूची नै घटाएको बताउनुभयो । ‘बजार जाँदा के-के न किन्छु भनेर गयो । आफूसँग भएको पैसाले आधा सामान पनि किन्न पुग्दैन,’ उहाँले भन्नुभयो, ‘हामीजस्ता सामान्य मान्छेले दशैँ मनाउनै नसक्ने भयौँ । नभइनहुने सामान किन्न पनि मुस्किल छ ।’

खाद्यान्न र लत्ता कपडामा मात्रे होइन यस वर्ष भेडाच्यांग्राको मूल्य पनि बढेको छ । यसपटक पनि कोभिड-१९ का कारण कोरला नाका ठप्प भएपछि भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् । यसले बजारमा माग धेरै र भेडाच्याङ्ग्रा कम भएपछि मूल्य अकासिएको हो । तिब्बतबाट भेडा च्याङ्ग्रा नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राकोे मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले बढेको छ । गतवर्ष व्यापारीले २७ हजार प्रतिगोटामा बिक्री गरेको च्यांग्राको भाउ यसपटक ३५ हजारभन्दा माथि पुगेको छ । यहीँ पनि उपभोक्तासम्म आइपुग्दा ४५/५० पुग्छ ।

भेडाच्याङ्ग्रा मात्रै होइन दशैँलक्षित गरेर व्यवसायीले ल्याएको धेरै सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको र मूल्य बढेको व्यवसायी दाबी गर्छन् । कोभिड-१९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा माग धान्न नसकिएको उनीहरूको दाबी छ ।

४३ स्थानमा सुपथ पसल

चाडबाडका बेला बजारमा अचाक्ली मूल्यवृद्धि हुने भएकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि कम्पनीले सुपथ पसल सञ्चालन सञ्चालनमा ल्याएको छ । उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरेको कम्पनीले कात्तिक २४ गतेसम्म सुपथ पसल सञ्चालन गर्ने जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले ३९ जिल्लाका ४३ स्थानमा सुपथ पसल सञ्चालन गर्न लागिएको बताउनुभयो । सुपथ पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ छुट पाइन्छ । भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट पाइन्छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलक्षित गरी पाँच हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । विभिन्न क्षेत्रबाट दुई हजार खसी÷बोका र तीन हजार च्यांग्रा ल्याउने तयारी गरेको कम्पनीले जनाएको हो । कम्पनीको बिक्री वितरण प्रमुख भीमबहादुर थापाका अनुसार बजारको मूल्यमा सन्तुलन ल्याउने उद्देश्यले हरेक वर्ष खसीबोका तथा च्याङ्ग्रा ल्याउने गरेको हो ।  बल्खु, टुकुचाका खसी पसलेलाई आधार बनाएर कम्पनीले केही सस्तोमा जिउँदो खसीबोका तथा च्याङ्ग्राको बिक्री मूल्य तय गर्छ ।

नियमनकारी निकायको निरर्थक सक्रियता

चाडबाडको बेला महँगी बढ्ने मात्रै होइन अखाद्य, म्याद गुज्रेका सरसामानसमेत बिक्री हुने गरेको पाइन्छ । कतिपय व्यापारीले अनावश्यक रूपमा कृत्रिम अभाव देखाएर पनि मूल्य बढाउने गरेको गुनासो आउने गरेको छ । यस्तो बेला नियमनकारी निकायले पनि निकै सक्रियता देखाउने गरेका छन् । पछिल्लो समय पनि नियमनकारी निकायले सक्रियता बढाएका छन् । आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो र सूचनालाई पहिलो प्राथमिकतामा राखेर बजार अनुगमनलाई सक्रिय बनाइरहेको जनाएको छ ।

चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ । पसलले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरूको अनुगमन तीव्र पारिएको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो । काठमाडौंका विभिन्न क्षेत्रमा अनुगमन गरी नियमविपरीत कार्य गर्नेलाई कारबाही गरिएको उहाँले बताउनुभयो । ‘हामीले चाडपर्व लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ, विभिन्न बजारमा अनुगमन गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘नियमविपरीत कार्य गर्नेलाई तत्कालै कारबाही गर्ने गरेका छौँ । चाडपर्वको समयमा अत्यावश्यक वस्तुको अभाव तथा मूल्यवृद्धि रोक्न सक्रिय रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वको समयमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नभएको जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले बजारमा खाद्यान्नदेखि पेट्रोलियम पदार्थसम्मको पर्याप्त स्टक रहेको बताउनुभयो ।

हुने खाने वर्गले जति महँगी बढे पनि वास्ता गर्दैनन् । शतप्रतिशत वा योभन्दा बढीको महँगी पनि उनीहरूले सहजै पचाउँछन् । मारमा मध्यम वर्गीय परिवार पर्छन् । बजारमा बढेको महँगीको मार गरिखाने वर्गलाई बढी परेको छ । उनीहरूलाई न कुनै नियमनकारी निकायको अनुगमनले छुन्छ न सुपथ मूल्य पसलको सस्तो सामानले । चाडबाडको बेला जति सक्रियता देखाए पनि नियमिनकारी निकाय सबै क्षेत्रमा पुग्न सक्दैन । पुगेकै ठाउँमा पनि उनीहरूको अनुगमन कर्मकाण्डी मात्रै हुन्छ । अचाक्ली बढेको मुल्यवृद्धि नियन्त्रण अनुगमनले पनि नियन्त्रण हुँदैन । वर्षभरि काम गरेर दशैँमा एक दिन मात्रै भए पनि नयाँ लुगा र मिठो खाने वर्गको पीडा कसले सुनिदिने ? न सरकारले सुन्छ न बजारले !