अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको टाउकोमा अरर्बौ ऋण, पुनः राष्ट्रपतिको उम्मेदवार बन्न आर्थिक समस्या।

एजेन्सी := अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोमा ऋणको भार बढेको छ । रियलस्टेटलगायतका व्यवसायबाट अरबपति बन्दै अमेरिकाकै राष्ट्रपति पदसमेत हत्याएका ट्रम्प पछिल्लो पटक ऋण भुक्तानका सन्दर्भमा विभिन्न जञ्जालमा परेको फोर्ब्स पत्रिकाले जनाएको हो।

ट्रम्पको व्यवसायमा १ दशमलव ३ बिलियन डलर ऋण रहेको अनुमान छ भने २ सय मिलियन डलर उनले राष्ट्रपति पद छाडेयता बढेको बताइएको छ । तर यसको मतलब ट्रम्प ब्यहोर्नै नसक्ने वित्तीय दबाबमा छन् भन्ने अर्थ भने नभएको फोर्ब्सले उल्लेख गरेको छ । बरु अघिल्ला महिनाको तुलनामा ट्रम्पको ब्यालेन्स सिट सुध्रिएको पनि जनाइएको छ।

खासगरी ट्रम्पको ३० प्रतिशतको शेयर स्वामित्व रहेको जेपी मोर्गनले डिफल्टरमा गएको सान फ्रान्सिस्को अफिस कम्प्लेक्सका लागि १ दशमलव २ बिलियन डलर मद्दत गर्नुपर्दा ऋणको आकार बढेको जनाइएको छ । ट्रम्पले चाहेजसरी वित्त व्यवस्थापन हुँदै गएमा सन् २०२३ सम्ममा ऋणको भारीबाट क्रमिक रुपमा श्वास फेर्ने अवस्थामा पुग्ने पनि जनाइएको छ।

सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा फेरि उम्मेदवारीको दौडमा रहने बताइरहेका रियल स्टेट व्यवसायका वादशाह ट्रम्पले आफूलाई ऋणको भारबाट क्रमशः हलुँगो बनाउनसक्नुपर्ने फोर्ब्सले उल्लेख गरेको छ।