काठमाडौं:= नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको छ।
बिहीवार पार्टी काठमाडौंको अर्पण बैंक्वेटमा नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको हो । उहाँले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताउनुभयो । उहाँले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गर्नुभयो । उहाँले नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको बताउँदै नेकपा एमाले सामुहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताउनुभयो।
अध्यक्ष नेपालले भन्नुभयो, ‘परित्याग गरेर आएको पार्टी नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको व्यहोरा पनि हामीले भर्खरै सुन्यौँ,अन्तिसम्म प्रयत्न गर्दा पनि त्यो पार्टीलाई ठीक ठाउँमा ल्याउन नसकिने भयो भन्ने निस्कर्षमा पुगेर र पछिल्लो कालको तमासा विधान महाधिवेशनको नाममा भेला गरिएका मानिसहरुको जमात त्यहाँ अघि सारिएका मान्यताहरु सबै चिजहरु देखेर भानुभक्त जोशी पार्टी परित्याग गरेर एकीकृतमा प्रवेश गर्नुभयो, नयाँ यात्रामा प्रवेश गर्नुभएको छ, यसमा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले सिर्जना गर्नेछन्, केपी ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आददर्शबाट च्यूत भइसकेका छन्, च्यूत भइसकेको अब औपचारिक रुपमा दिन हेर्नमात्रै बाँकी छ, त्यहाँ कुनै सामुहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रा.लि.को रुपमा रुपान्तरित हुन थालेको छ, आजको बैठकबाट हामी उहाँलाई औपचारिक निर्णय गर्नेछौँ, निर्णय गर्ने सन्दर्भमा हामीले धारणा बनाएका छौँ, उहाँलाई पार्टीको स्थायी कमिटी सदस्यमा ल्याउने घोषणा गर्दछु।’
कार्यक्रममा नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा मा प्रवेश गर्नुभएको नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताउनुभयो । उहाँले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताउनुभयो । नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको स्पष्ट पार्नुभयो।
नेता जोशीले भन्नुभयो, ‘१० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नगरिँदा,आम नेता कार्यकर्ताको मन भाँचिएको छ,पार्टी एकताका लागि कोशे ढुंगाको रुपमा रहेको १० बुँदे सहमति नगरिँदा र पार्टीमा फेरि आग्रह पूर्वाग्रहको यथावत रहेको महशुस भएकोले राजीनामा दिइ एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ, म इमान्दारीपूर्वक र क्षमताले भ्याएसम्म आजकै दिनबाट पार्टीको काममा लाग्नेछु ।’ नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएका नेता जोशीलाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गर्नुभएको छ।




















