जनकपुर:= प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुभएको छ। सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार राउतले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिनु भएको हो ।
प्रदेशसभाको सातौ अधिवेशनको पहिलो बैठकमा बुधवार मुख्यमन्त्री राउतले बिश्वासको मत पाँउ भनि राखेको प्रस्तावको पक्षमा प्रदेशसभामा उपस्थित कुल सांसद संख्या एक सय मध्ये बिश्वासको पक्षमा ७७ र विपक्षमा २३ मत खसेको सभामुख सरोज कुमार यादवले घोषणा गर्नुभयो ।
त्यस अघि प्रदेशसभामा रहेका सबै दलका संसदिय दलका नेता तथा सांसदहरुले प्रदेश सरकार र मुख्यमन्त्रीको बारेमा आफनो धारणा राख्ने क्रममा मुख्यमन्त्रीको आलोचना गरेका थिए । मुख्यमन्त्री राउतको पक्षमा जसपा, कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादीका सांसदहरुले मतदान गरेका छन भने विपक्षमा लोसपा र एमालेले मतादन गरेका छन् ।




















