मन्त्रिपरिषद्लाई पूर्णता दिन घटस्थापनाको साइत।

काठमाडौं:= ज्योतिषशास्त्रमा अलि बढी नै विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइत पारेर मन्त्रिमण्डललाई विस्तार गर्ने हुनुभएको छ । मंगलबार गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रालय भागबण्डाको कुरा मिलेपछि घटनास्थापनाको साइतमा मन्त्रिमण्डलले पूर्णता पाउने भएको हो । यो वर्ष घटस्थापना २१ गते परेको छ । प्रधानमन्त्री देउवाले सोही दिन मन्त्रीहरूलाई शपथ गराउने व्यवस्था मिलाउन अन्य दलका नेताहरूलाई आग्रह गर्नुभएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले घटस्थापनाको साइतमा नै मन्त्रिमण्डललाई पूर्णता दिने प्रस्ताव गर्नुभएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार मंगलबार साँझसम्म सरकारलाई पूर्णता दिन सकिने अवस्था भए पनि प्रधानमन्त्री देउवाको प्रस्तावका कारण २१ गते मात्रै मन्त्रीहरूको शपथ हुने बताउनुभयो ।

हिमालय टाइम्ससँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो- ‘प्रधानमन्त्री ज्यू ज्योतिषशास्त्रमा बढी विश्वास गर्नुहुन्छ । जे काम गर्दा पनि उहाँको त्यही साइत हेर्ने बानी रहेको छ । मंगलबारको बैठकमा पनि उहाँले सोही कुरा राख्नुभयो । मंगलबार नै सहमति जुटेकाले शपथ गराउने अवस्था थियो । तर, उहाँ (प्रधानमन्त्री) को प्रस्तावपछि अन्य नेताहरूले पनि हुन्छ भन्नुभयो ।’

मंगलबार गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ६ मन्त्रालय राख्नेछ । यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को भागमा पाँच÷पाँच वटा मन्त्रालय परेका छन् । त्यसैगरी जसपाको भागमा चार मन्त्रालय परेका छन् । जसपाले उपसभामुख पनि पाउने सम्भावना रहेको छ । स्रोतका अनुसार बाँकी दुईवटा मन्त्रालय प्रधानमन्त्री देउवा आफैँसँग राख्नुभएको छ । यसैगरी थप दुई राज्यमन्त्री पनि मन्त्रिमण्डलमा हुनेछन् । देउवासँग रहेका मन्त्रालयहरू लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी भए आवश्यक पर्ने भन्दै देउवाले आफैँसँग राख्नुभएको हो । यदि लोसपा पनि सरकारमा सहभागी हुने अवस्था आएमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)को भागमा पनि चारवटा मन्त्रालय हुनेछन् । तर, प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले पनि मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचार आइरहेको बेला देउवाले राखेका मन्त्रालय उहाँका लागि सुरक्षित गरिएको बुझाइ विपक्षी दलका नेताहरूको रहेको छ । मन्त्रालयगत रुपमा पनि सहमति जुटेपछि दलहरू आन्तरिक रुपमा छलफलमा जुटेका छन् । सम्भावित नामहरूमा दलहरूभित्र अहिले छलफल चलिरहेको छ ।

कुन पार्टीलाई, कुन मन्त्रालय ? मन्त्रीका लागि यी हुन सम्भावित नाम

अहिले सरकारमा पाँचजना मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति भइसकेको छ । नेपाली कांग्रेसबाट अहिले गृहमन्त्रीमा बालकृष्ण खाँण, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्का नियुक्त हुनुभएको छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ हुनुहुन्छ । अब कांग्रेसले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालय आफूसँगै राखेको छ ।

कांग्रेसबाट मन्त्रीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट दुईजना मन्त्री बन्नेछन् । एकजना नेता कृष्णप्रसाद सिटौला पक्षबाट चयन हुनेछन् । पौडेल पक्षले तीन मन्त्रालयको माग गरिरहेको भए पनि  पार्टीले नै ६ मन्त्रालय पाउने भएपछि सहमति जुटाउन देउवालाई केही सहज देखिएको छ । पौडेल पक्षबाट डा. मीनेन्द्र रिजालको नाम चर्चामा रहेको छ । रिजाललाई स्वास्थ्य वा सञ्चार मन्त्रालयको जिम्मेवारीमा पठाउन सकिने पौडेल पक्षका नेताहरू बताउँछन् । यसैगरी पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडु वा तेजुलाल चौधरीको नाम चर्चामा रहेको छ । तर, चौधरीको पक्षमा नेताहरू सकारात्मक रहेकाले उहाँको सम्भावना बढी भएको बुझिन्छ । यद्यपि केही नेताहरूले राजन केसीलाई मन्त्री प्रस्ताव गरिरहेका छन् । सिटौला पक्षबाट उमाकान्त चौधरीलाई पठाउने निर्णय भएको बताइएको छ ।

माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपन्छी गरी तीन मन्त्रालय पाउने भएको छ । यसअघि नै माओवादी केन्द्रबाट अर्थ मन्त्रालयको जिम्मेवारीमा जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पम्फा भुसालले पाइसक्नुभएको छ । अब माओवादी केन्द्रबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराँती, जयपुरी घर्ती, शशी श्रेष्ठ, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ ।

यसैगरी नेकपा एसले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति गठबन्धनमा भएको नेता मेटमणि चौधरीले बताउनुभयो । सो पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री र मेटमणी चौधरीको नाम चर्चामा रहेको छ । यसैगरी प्रेम आले मगर, जीवनराम श्रेष्ठ, भवानी खापुङ र किसान श्रेष्ठको नाम पनि चर्चामा रहेको छ । समाजवादी पार्टीबाट खतिवडाको नेतृत्वमा सहभागी हुने सम्भावना रहेको बुझिएको छ ।

यसैगरी जनता समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार मन्त्रालय पाएको छ ।  नेता राजकिशोर यादवका अनुसार जसपालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमतिती गठबन्धनमा भएको छ । यस्तै जसपाले एक राज्यमन्त्री पनि पाउनेछ । जसपाले मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।

उहाँले भन्नुभयो- ‘हाम्रो मागमा चार वटा मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय छन् । मन्त्रालय जम्मा चारवटा छ । सबैलाई मन्त्री बनाउन त सकिँदैन । त्यसैले अध्यक्षलाई पार्टीको हितमा सबै प्रकारणको क्षत्रीयता, जातीयता, लैंगिकता, मूल्यांकन र क्षमताको आधारमा निर्णय गर्नुहोस् भनेका छौँ । त्यो निर्णय हामी स्वीकार गछौं भनेर पार्टी अध्यक्षलाई त्यसको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको छ ।’

जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसदहरू रहेका छन् । सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो ।