काठमाडौं:= दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा हालसम्म फाइनल पुग्न नसकेको इतिहासलाई मेट्दै यसपल्ट नेपाल माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको फाइनलमा पुग्ने सुरमा रहेको छ । सोमबार राति नेपालले श्रीलंकालाई ३-२ गोलअन्तरले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोलअन्तरले पराजित गरेको थियो । राउन्ड रोबिन लिगको दोस्रो खेलमा पनि जित हासिल गरेसँगै नेपाल ६ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालले दोस्रो स्थानको बंगलादेशभन्दा दुई अंकको अग्रता पनि लिएको छ । बंगलादेशले दुई खेलमा चार अंक जोडेको छ । भारतले एक खेलमा एक अंक जोड्दा माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । माल्दिभ्सले भने एक खेलमात्र खेलेको छ ।
नेपालले अब भारतविरुद्ध आइतबार हुने खेलमा जित हासिल गरेमा फाइनल पुग्ने सम्भावना छ । त्यसका लागि बिहीबार हुने खेलको नतिजा नेपालको पक्षमा आउनुपर्नेछ । नेपाल बिहीबार विश्राममा रहँदा भारतले श्रीलंका तथा माल्दिभ्सले बंगलादेशसँग खेल्नेछन् । नेपालले अब लिगमा आइतबार भारत र बुधबार बंगलादेशको सामना गर्नेछ ।
श्रीलंकाविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अञ्जन विष्ट र आयुश घलानले एक/एक गोल गर्नुभयो । श्रीलंकाका लागि मार्भिन हृयामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल गर्नुभयो ।
खेलको पहिलो हाफको ३३औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । यस्तै खेलको ५१औं मिनेटमा नेपालका तर्फबाट अञ्जन विष्टले गोल गर्नुभयो । खेलको ५७औं मिनेटमा मार्भिन हृयामिल्टनले श्रीलंकाका लागि पहिलो गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याउनुभयो । यसैगरी आयुश घलानले खेलको ८६औं मिनेटमा गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाउनुभयो ।
खेलको अन्तिम समयमा श्रीलंकाका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत् गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्याउनुभए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सक्नुभएन । लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्षस्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।
खेलपछि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन अंक जोड्न सकेकोमा खुशी व्यक्त गर्नुभयो । ‘म तीन अंक जोड्न सकेकोमा धेरै खुशी छु । खेल निकै कठिन थियो । यो प्रतियोगितामा अंक निकै महत्वपूर्ण छ र हामीले सम्भव भएको ६ मा सबै ६ जित्न सकेका छौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो अब फाइनल पुग्ने सम्भावना रहेको मेरो बुझाइ छ । प्रतियोगिता अझै बाँकी छ, म खेलाडी र समर्थकबाट निरन्तर साथको अपेक्षा छ । अब दबाब अन्य टोलीलाई छ ।’
‘प्रतियोगितामा प्रदर्शनभन्दा पनि नतिजा महत्वपूर्ण हुन्छ । विपक्षीले बल राख्न चाहन्छ भने राखून्, मलाई मतलब छैन । मलाई अंक चाहिएको छ । यदि मैत्रीपूर्ण खेल हो भने प्रदर्शन महत्वपूर्ण हुन्छ । किनकि त्यसले प्रतियोगितामा खेल्न राम्रो गराउँछ’, उहाँले थप्नुभयो ।
उहाँले खेलमा प्रदर्शनभन्दा पनि नतिजा महत्वपूर्ण रहेको र नतिजा निस्कँदा आफू खुशी भएको बताउनुभयो । ‘हुन सक्छ आज हामीले खेलेको रणनीति कतिलाई मन परेन होला । माल्दिभ्सको खेल पनि मन पराएनन् होला । तर, म दुखी हुन्न । हामीले सम्भव भएको ६ अंक नै जितेका छौं,’ उहाँले भन्नुभयो, ‘अर्को खेलमा भारतले बल पोसेसन राखेर खेले पनि मलाई केही छैन । भारतले ९८ प्रतिशत नै बल पोसेसन राख्छ र हामी १-० जित्छौं भने मलाई नतिजा महत्वपूर्ण छ । त्यसैले अब हामीले विश्राम लिनेछौं र खेलको तयारी गर्नेछौं ।’
यस्तै खेलको म्यान अफ द म्याच चुनिनुभएका अञ्जन विष्टले प्रशिक्षकले आफूमाथि विश्वास गर्नुभएकोमा धन्यवाद दिनुभयो । ‘म सबै खेलाडी सहकर्मी, प्रशिक्षक र समर्थकलाई धन्यवाद दिन चाहन्छु । मुख्य कुरा प्रशिक्षकले मलाई विश्वास गर्नुभएकोमा आभारी छु । प्रशिक्षकले भन्नुभएको जस्तै प्रतियोगिता अझै बाँकी छ । हामी अन्त्यसम्म पनि लड्नेछौं,’ उहाँले भन्नुभयो ।
राष्ट्रिय टोलीबाट अञ्जनको यो छैटौं गोलसमेत हो । सन् २०१९ मा चाइनिज ताइपेइविरुद्ध दुई गोल गर्दै राष्ट्रिय टोलीमा गोलको खाता खोल्नुभएका उहाँले त्यसयता प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा चार गोल गरिसक्नुभएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १३ गोलको कीर्तिमानी छ । हरि खड्का र निराजन रायमाझीको नाममा रहेको यो कीर्तिमान तोड्न कसैले सकेको छैन ।




















