करातेमा नेपाललाई चार स्वर्ण।

काठमाडौं:= जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण र दुई कास्य पदक जितेको छ । नेपालका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्नुभयो । उहाँले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जित्नुभएको हो ।

मन्डेकाजी १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुनुहुन्छ ।सागकै कास्य विजेता मुकुन्द्र महर्जनले ३० वर्षमाथि स्वर्ण र कुमुतेको पुरुष ७५ केजीमुनि कास्य जित्नुभयो ।

त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनियर एकल कातामा कास्य तथा आफ्नो उमेर समूहमा स्वर्ण हात पार्न सफल भएको नेपाली टोलीका टिम व्यवस्थापक स्वच्छम गुरुङले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको थियो ।