एजेन्सी := साफ च्याम्पियनसिप फुटबल अन्तर्गत गएराति माल्दिभ्समा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलले हराएको छ।
खेलको सुरुआतमा श्रीलंकाले दबाब बनाए पनि ३३ औं मिनेटमा सुमन लामाले गोल गरेसँगै नेपालले खेलमा पकड बनाएको थियो। नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले १ – १ गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले १ – १ गोल फर्काएका थिए।
पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालले ५१ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । नेपालका लागि आयुष घलानको पासमा अञ्जन विष्टले ट्याप इनमार्फत् दोस्रो गोल गरेका थिए।
त्यसको ६ मिनेट नबित्दै श्रीलंकाका मार्भिन हामिल्टनले उत्कृष्ट गोल गरेका थिए । निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा आयुषले गोल गर्दै नेपालको अग्रता पुन: ३-१ मा लम्ब्याएका थिए।
तर, इन्जुरी समयमा गौतम श्रेष्ठले पेनाल्टी एरियामा बल ह्यान्ड गरेको भन्दै रेफ्रीले पेनाल्टी दिएपछि श्रीलंकाले दोस्रो गोल फर्काउने मौका पाएको थियो । सोही पेनाल्टीमा श्रीलंकाका डिलियोन डी सिल्भाले गोल गरेका थिए।
श्रीलङ्का पहिलो खेलमा पनि बङ्गलादेशसँग १–० ले पराजित भएको थियो । जितसँगै नेपालको ऐतिहासिक फाइनल प्रवेश नजिक पुगेको छ । बाँकी दुई खेलबाट एक बराबरी वा जित निकाले नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेल्ने छ । प्रतियोगितामा दुई खेलमा ६ अंक जोड्ने नेपाल पहिलो टोली हो । नेपालले आगामी आइतबार भारतसँग खेल्ने छ।




















