बारामा ग्रामीण भेगमा चल्ने अटो रिक्साद्वारा यात्रु ठगिँदै, मनपरि भाडा असुल।

[ सञ्जिव कुमार मिक्ष्रा ] 

बारा:= बारा सदरमुकाम कलैयाबाट ग्रामीण भेगमा चल्ने अटो रिक्साहरूबाट सर्वसाधारण ठगिँदै आएका छन् । उनीहरूले मनपरी भाडा लिने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । कलैयाबाट गञ्जभवानीपुर जान प्रतिव्यक्ति ५० रुपैयाँ भाडा लिने गरेको महागढीमाई नगरपालिका-१० गञ्जभवानीपुरकी रुबी खातुनले बताउनुभयो ।

कलैयाबाट गञ्जभवानीपुरको दूरी पाँच किलोमिटर रहेको छ । तर पाँच किलोमिटर दूरीको यात्रा गर्न सर्वसाधारणले ५० रुपैयाँ तिर्दै आएका छन् । कलैयाबाट वीरगञ्ज चल्ने साना तथा ठूला यातायातका सवारी साधनहरूले भने ४० रुपैयाँ भाडा लिने गरेका छन् । १३ किलोमिटर पुग्न ४० रुपैयाँ खर्चिनुपर्छ भने पाँच किलोमिटर पुग्न ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको स्थानीय खातुनले बताउनुभयो ।

त्यसै गरी कलैयाबाट नौ किलोमिटरको दूरीमा रहेको गडहल गाउँसम्म पुग्न टेम्पो चालकहरूले एक सय रुपैयाँ लिने गरेका छन् । टेम्पोले आफू मनपरी भाडा लिँदासमेत सम्बन्धित निकाय मौन देखिएका छन् । उनीहरू लामो समयदेखि सर्वसाधारणलाई ठग्दै आएका छन् ।

कलैया वीरगञ्जको भाडासँग तुलना गर्ने हो भने एउटै जिल्लामा फरक-फरक रेट देखिएको छ । प्रतिकिलोमिटर चार रुपैयाँको दरले हिसाब गर्ने हो भने पनि कलैयादेखि गञ्जभवानीपुरसम्मको यात्रा गर्दा २० रुपैयाँ हुनुपर्ने हो । तर २० रुपैयाँको साटोे अढाई गुणा बढी भाडा लिई यात्रुहरूलाई टेम्पो चालकहरूले ठगी गर्दै आएका छन् ।

यसरी सार्वजनिक रुपमा यात्रुहरू ठगिँदै आए पनि सम्बन्धित निकायले अनुगमनसमेत गर्न सकेको देखिँदैन । नेपाल सरकारले २०७८ असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट मन्त्रीस्तरीय सहमतिसमेत प्राप्त गरी नेपालको संंविधान २०७२ को अनुसूची ५ को बुँदा नम्बर २० र अनुसूची ९ को बुँदा नम्बर १५ का आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ कोे उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातका सवारीहरूको भाडा दर विभागको असार २९ गतेको निर्णयबमोजिम यात्रुबाहक सवारी साधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडादरमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडादरमा २६ प्रतिशत वृद्धि गरेको छ ।

वृद्धि गरिएको भाडा दरअनुसार लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर प्रति किलोमिटर दुई रुपैयाँ ३० पैसादेखि दुई रुपैयाँ ५० पैसासम्म पर्न जान्छ । अहिले कलैैयादेखि काठमाडौंको भाडादर ७०७ रुपैयाँ कायम गरिएको छ । यसलाई किलोमिटरको हिसाबले गणना गर्ने भने दुई रुपैयाँ ४८ पैसा पर्न आउँछ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादवले भन्नुभयो- ‘कलैया उपमहानगरपालिकाले कुनै पनि रुटको टेम्पोको भाडा दर निर्धारण गरेको छैन । उनीहरूले आफू मनपरी भाडा लिने गरेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म कुनै पनि रुटको टेम्पोको भाडादर निर्धारण नगरिएको उहाँको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख विपीन ओझाले ग्रामीण भेगमा चल्ने टेम्पोहरूले प्रति किलोमिटर चारदेखि पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले अहिले सबै अधिकार पालिकामा गएकाले उनीहरूले नै भाडादर निर्धारण गर्नुपर्ने बताउनुभयो । सडकको अवस्था हेरी भाडादर निर्धारण गर्नुपर्ने व्यवस्था कानूनले गरेको छ । पक्की सडकको लागि बढीमा साढे चार रुपैयाँसम्म प्रतिकिलोमिटर भाडा लिनुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।