काठमाडौं:= पूर्व-युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताउनुभएको छ । शुक्रबार नवलपरासीका बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व–युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताउनुभयो।
उहाँले आयआर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरूको गरिबी निवारण गर्नुपर्ने बताउनुभयो । युवा र महिलाहरूलाई गरिबी निवारण गर्नको लागि नयाँ तौर-तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व-युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताउनुभयो । उहाँले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरूले नजरअन्दाज गर्न नसक्ने बताउनुभयो ।
पूर्व-युवराज्ञी शाहले भन्नुभयो, ‘नेपाली हुनुको नाताले अब समय आयो सबै एक भएर सोचौँ, मनन गरौँ कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौँ, आयआर्जनको लागि दिगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी सोमार्फत युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्यमध्येको एक हो, यसको लागि नवीन परिवर्तनात्मक तौर-तरिकाको खोज अन्वेषण आवश्यक छ, सम्पूर्ण नेपालीहरूलाई निश्चित समयभित्र कोरोनाविरुद्धको खोपको सुनिश्चित गर्न आवश्यक छ, कृषि क्षेत्रमा रहँदै आएका, किसानले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ,।
साथै पर्यावरण सन्तुलनको लागि हरित प्रयोग, नेपाल र नेपालीको लागि स्थानीय लक्ष्य, नेपाली वन, नेपाली वस्तु किन भन्ने जस्ता नाराहरू आज अझ बढी यथार्थ भएको छ, मुलुकमा भइरहेको पृथबाहू, प्रतिभा पलायन र ज्ञान, सीप एवं क्षमताबीचको दूरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौँ, न त यो स्थितिलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ ।’
पूर्व-युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नवसुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले मुलुकको सेवा गरे मात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत हुनुपर्ने बताउनुभयो ।



















