बारा:= भारत विहारको मुजफरपुरमा कार्यरत एक नेपाली मजदुरको रहस्यमय मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१० मटिअर्वाका महेश रामको १८ वर्षीय छोरा नन्दलाल रामको रहस्यमय मृत्यु भएको हो । राम असोज ४ गते काम गर्न भारत विहार मुजफरपुर जिल्ला स्थित काँटीमा रहेको ‘माँ भगवती स्टिल फैक्ट्री’ मा जानुभएको थियो । उहाँ पहिला पनि दुई महिना त्यही फ्याक्ट्रीमा काम गरेर घर फर्किनुभएको थियो ।
उहाँ माँ भगवती स्टिल फ्याक्ट्रीमा फलाम गलाउने काम गर्दै आउनुभएको थियो । घरमा आएको केही समयपछि उहाँ फेरि आफ्नो काममा फर्किनुभयो । उहाँका सानोबुबा अमिरका राम त्यही फ्याक्ट्रीमा फलाम गलाउने काम गर्दै आउनुभएको छ ।
गएको असोज ४ गते मुजफरपुर पुग्नुभएका राम ५ गते फ्याक्ट्रीमा काम गर्न पुगेको पारिवारिक स्रोतले जनाएको छ । काम सुरु गरेकै दिन बिहान साढे ३ बजे फलाम गलाउने क्रममा फलामको आगोको कारण उहाँले लगाउनुभएको पाइन्टमा आगो लाग्यो । आगो लागेपछि उहाँ गुहारगुहार भनेर कराउन थालेको रामका सानोबुबाले जानकारी दिनुभयो । ‘म त्यही फ्याक्ट्रीमा कार्यरत थिएँ, राम गुहारगुहार भनी कराउन थालेपछि त्यतैतिर दौडेर पुगेँ’, उहाँले भन्नुभयो, ‘म आफ्नो काम छाडेर उनी नजिक आएँ । तबसम्म पाइन्टमा आगो लागिसकेको थियो ।’ हतारहतारमा उसको पाइन्टको आगो निभाइएको अमिरका रामले बताउनुभयो ।
त्यसपछि फ्याक्ट्रीका म्यानेजर अजय सिंहले घाइते रामलाई फ्याक्ट्री नजिकै पर्ने माँ जानकी अस्पतालमा भर्ना गराउन भन्नुभयो । म्यानेजरको भनाइबमोजिम नै रामलाई मुजफरपुरस्थित माँ जानकी अस्पतालमा भर्ना गरियो । भर्नापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको थियो ।
उहाँको बाहिरी छाला मात्र डढेको थियो । उहाँ सबैसँग कुराकानी गर्नुहुन्थ्यो । हात खुट्टा चलाउन कुनै समस्या थिएन । राम पाँच दिनसम्म अस्पतालको बेडमा ठीक हुनुहुन्थ्यो । पोलेको घाउ पनि पहिलाभन्दा निको भएको थियो । दुई दिन अगाडि मृतकका आमा कुमारी देवी राम र उहाँको मामा सञ्जय राम नेपालबाट मुजफरपुरस्थित माँ जानकी अस्पताल जहाँ राम भर्ना हुनुभएका थियो त्यहीँ पुग्नुभयो । रामको घाउ पहिलाभन्दा निको भएको थियो र दुःखाइ पनि कम भएको थियो । रामको आमा र मामा अस्पतालमा पुगेपछि यस अस्पतालको व्यवस्थापन राम्रो नभएको कारण बिरामी रामलाई अस्पतालबाट रिफर गर्न अनुरोध गर्नुभयो ।
पाँचौं दिनदेखि रामलाई ज्वरो आउन थाल्यो । चिकित्सकसँग सोध्दा पोलाइको कारण ज्वरो आएको हो उनी समान्य छन् । चाँडै ठीक भइहाल्छन् भनी जवाफ दिएको उहाँले भन्नुभयो ।’ बिरामीलाई रिफर गर्न दबाब दिएपछि अस्पतालले बिरामीलाई बुधबार १३ गते रिफर गर्यो रामका मामा सञ्जय रामले भन्नुभयो, ‘रिफर गरेको केही समय नबित्दै अस्पताल बाहिर ल्याई बसाएको अवस्थामा रामले वान्ता गर्न थाले । वान्तामा पानी मात्र देखियो । स्कारपिओ भाडा गरी ल्याएको केही समय नबित्दै राम शान्त भए । उनको शरीर चिसो हुन थाल्यो । त्यसपछि त्यही अस्पतालको चिकित्सकलाई रामको अवस्था किन बिग्रिँदै गएको हो भनी चेक गर्न भने । चिकित्सकले रामकोे मृत्यु भइसकेको भनी जवाफ दिए । हामीले अनेक प्रयत्न गर्यौं आखिरमा अचानक के भयो ? भाञ्जा एकैछिनमा कसरी मरे । तर, कसैले केही जवाफ दिएनन् ।’
‘आखिरमा त्यहाँ प्रहरी आयो उनीहरूले पनि हामीलाई सहयोग गरेनन् । हामी अनपढ गरिब मान्छे प्रहरीले हामीबाट एउटा कागजमा सही छाप गराए । त्यसमा के लेखिएको थियो हामीलाई थाहा भएन । कागजमा सही गराएपछि मृतक रामलाई घर लग्न भन्यो हामी रामको लाश लिएर घर आयौँ,’ सञ्जय रामले भन्नुभयो ।
लाश लिएर आउँदा बोर्डरमा कुनै समस्या भएन उहाँले भन्नुभयो,‘हामी बिहीबार ४ बजे बिहान मटिअर्वा नाकाबाट प्रवेश गर्यौं तर कोही कसैले चेकजाँच वा कुनै किसिमको अवरोध गरेनन् । अस्पतालबाहिर रामको मृत्यु भएकाले अस्पतालले मृत्यु प्रमाणपत्रसमेत दिएन ।’ रामको बिहीबार सदगद गर्ने कार्य सम्पन्न भएको छ ।
यता, सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजितले एम्बुलेन्स भएको कारण चेकजाँच नगरेको हुन सक्ने जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीको लापरबाही
भारतबाट शव लिएर आउँदासमेत चेकजाँच नहुनु सशस्त्र प्रहरीको लापरबाही भएको देखिएको छ । रामको नत पोष्टमार्टम भएको थियो नत मृत्यु सर्टिफिकट नै थियो । तर, पनि उनीहरू विना रोकटोक नेपाल प्रवेश गर्न पाए । हुनत उनीहरू एम्बुलेन्समा भारतबाट नेपाल प्रवेश गरेका थिए । आकस्मिक सेवाको लागि छुट भए पनि भारतबाट नेपाल छिर्दासमेत चेकजाँच नहुनु लापरबाही भएको कलैया उपमहानगरपालिका-१० का वडाध्यक्ष शंकर गुप्ताले बताउनुभयो ।
उद्योगपतिले खर्च दिने डरले इन्जेक्सन लाएर रामलाई मारेको हुन सक्ने आशंका गाउँलेले गरेका छन् । उद्योगपतिकै इसारामा भारतीय प्रहरीले शव परीक्षण नै नगराई सदगदका लागि जिम्मा लगाई पठाएको उहाँले बताउनुभयो ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भारतमा निधन भएपछि त्यहीँको प्रहरीमार्फत शवको परीक्षण गराउनुपर्ने बताउनुभयो । ‘भारतमा मृत्यु भएकाले त्यहीँकै प्रहरी प्रशासनले अनुसन्धान गर्न पाउँछ,’ उहाँले भन्नुभयो, ‘नेपाली प्रहरी प्रशासनले केही गर्न सक्दैन ।’ भारतबाट शव ल्याउँदा प्रहरीले धेरै सोधखोज नगरेको हुन सक्ने उहाँले बताउनुभयो ।



















