एजेन्सी := माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली फुटबल प्रतियोगीता (साफ च्याम्पियनसिप) फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।
हिजो शुक्रबार भएको खेलमा नेपालले साफ आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो। मनिष डाँगीले खेलको ८६ औं मिनेटमा नेपालबाट निर्णायक गोल गरेका थिए।
यससँगै नेपालले माल्दिभ्सलाई २२ वर्षपछि पहिलोपटक उसकै भूमिमा हराएको छ । साथै, साफ च्याम्पियनसिप फुटबलको इतिहासमा भने नेपालले पहिलोपटक माल्दिभ्सलाई हराउन सफल भएको छ।
यसअघि साफमा कहिल्यै पनि नेपालले यस प्रतियोगितामा माल्दिभ्सलाई हराउन सकेको थिएन । तर, यसपटक प्रतियोगिता आयोजक देशलाई उसकै भूमिमा स्तब्ध बनाएर नेपालले नयाँ इतिहास रचेको छ । यता, नेपालले माल्दिभ्सलाई उसकै भूमिमा हराएको यो २२ वर्षपछि हो।
यसअघि हिजै शुक्रबार सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ । ५ टिम सहभागी प्रतियोगिताको प्रारम्भिक चरणमा शीर्ष दुई स्थान हात पार्ने टिम फाइनलमा भिड्नेछन्।



















