काठमाडौं := नेटवर्किङ व्यवसायको नाममा अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले दुई जना नवजवान युवाहरू लाई पक्राउ गरेको छ।
प्रहरीद्वारा पक्राउ पर्नेमा काभ्रेको धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महते रहेको छ।
पक्राउ परेका दुईजनाले भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखी पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको प्रहरीको भनाइ छ।
उक्त कम्पनीमा सदस्य बनेमा साल्ट ल्याम्प, कपडा, औषधिजन्य वस्तु सस्तो मूल्यमा पाउने भन्दै सदस्यता लिनका लागि पीडितलाई आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि शुक्रबार वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभाग, बबरमहलमा पठाएको प्रहरीले जनाएको छ।



















