काठमाडौं:= विभागीय टिम त्रिभुवन आर्मी क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा एभरेष्ट क्लब बुटवललाई ३-० को सेटमा पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।
आर्मीले एभरेष्टमाथि २५-१२, २५-१३ र २५-२१ को सेटमा जित निकाल्यो । यस जितसँगै समूह ‘बी’ को आर्मीले एक खेलमा तीन अंक जोडेको छ । र, एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । एभरेष्टको यो लगातार दोस्रो हार हो । यस हारसँगै एभरेष्ट समूह चरणबाट बाहिरिएको छ ।
पहिलो खेलमा एभरेष्ट न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । आर्मीको जितसँगै न्यु डायमण्डसमेत सेमिफाइनलमा प्रवेश गरेको छ । अब आर्मी र न्यु डायमण्डबीचको खेलले समूह विजेता र उपविजेताको तय हुनेछ ।
त्यसअघि विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै समूह ‘बी’ बाट विजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको थियो । पुलिसले समूह चरणमा तीन खेलमा विजयी बन्दै कुल नौ अंक जोड्न सफल भएको हो। पुलिसले गण्डकीलाई २५-१४, २५-१४, २५-१८ को सहज जित निकालेको हो ।
पुलिससँग पराजित भएको गण्डकी प्रदेश पनि समूह उपविजेताका रूपमा अन्तिम आठमा स्थान बनाएको छ। यस्तै सोही समूहको अर्थहीन खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाली मिलन क्लबलाई ३-१ को सान्त्वना जित निकाल्यो । मणिमुकुन्दले दावालीलाई २५-१६, २१-२५, २५-१५ र २५-२३ ले पराजित गरेको हो ।
दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा भारतीय खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले सनसनीपूर्ण खेलमा गलकोट स्पोर्टस् क्लबमाथि ३-१ को जित निकाल्यो । हेल्प नेपालले गलकोटलाई २५-१८, २२-२५, २५-२२ र २५-१९ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेको हो ।
यस समूहबाट गलकोट स्पोर्टस् क्लब उपविजेता भयो । चैत महिनामा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुषतर्फ सात र महिलातर्फ पाँच टिमले स्थान बनाउनेछन् ।
च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान चार लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रोले दुई लाख र तेस्रोले एक लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधाअन्तर्गत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्नेछन् ।



















