काठमाडौं:= पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्रमा लोक तथा दोहोरी गीतको दबदबा निकै छ । नेपाली चलचित्रमा समावेश हुने गीत होस् या अन्य गीत अहिले लोकगीतले नेपाली बजारमा राम्रो स्थान पाइरहेको छ । पाँच वर्षअघिमात्रै फर्केर हेर्ने हो भने हिन्दी तथा नेपाली चलचित्रका गीतहरू बढी सुनिन्थ्यो । तर अहिलेको समयमा नेपाली लोकदोहोरी गीत निकै सुन्ने गरिन्छ ।
यसैबीच नेपाली लोक तथा दोहोरी गीतको भिडियोको क्षेत्रकी लोकप्रिय कलाकार अञ्जलि अधिकारी मोडलिङको क्षेत्रमा आफ्नो पहिचान बनाइसक्नु भएकी कलाकार हुनुहुन्छ । अञ्जलिले सयबढी लोकगीतका भिडियोमा अभिनय गरिसक्नु भएको छ । पछिल्लो समय ‘सेन्टिमेन्टल’ होस् या ‘डान्सिङ’ गीत होस् भिडियो मेकिङको समयमा निर्देशक तथा निर्माताको पहिलो रोजाइमा अञ्जलि पर्ने गर्नुहुन्छ ।
कलाकार अञ्जलिले गएको बिहीबार आफ्नो २५औं जन्मदिन मनाउनु भएको छ । काठमाडौंको अनामनगरमा एक कार्यक्रमबीच उहाँको जन्मदिनको अवसर पारेर नयाँ गीत ‘नक्कली माया’ सार्वजनिक गरिएको थियो । जुन गीतमा रचना रिमालको स्वर छ भने मेक्सम खाती र अञ्जलिको अभिनय छ । कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिनेक्रममा अञ्जलिले लोकदोहोरीको भिडियोबाटै पहिचान बनाउन सक्ने अवस्था आएको बताउनुभयो ।
चलचित्रमा अभिनय गर्ने मन छ कि नाई ? भन्ने प्रश्नमा अञ्जलि भन्नुहुन्छ, ‘चलचित्रमा जानै पर्छ भन्ने त छैन । म लोकदोहोरी गीतको भिडियोबाट काम गर्दै यहाँसम्म आएकी हुँ, अहिलेको अवस्थामा दोहोरीबाटै पनि पहिचान बन्नसक्ने अवस्था छ । त्यसैले जता काम गरेपनि उस्तै हो ।’ कलाकार अञ्जलिले राम्रो अनुहार हुँदैमा चलचित्रमा गइहाल्नुपर्छ भन्ने तर्क राख्नुभयो ।
अञ्जलिले भन्नुहुन्छ, ‘हेर्दा राम्रो छ अथवा राम्रो काम गर्छ भन्ने बित्तिकै चलचित्रमा गइहाल्नुपर्छ जस्तो लाग्दैन । लोकदोहोरीको भिडियोबाट पनि राम्रो गर्न सकिन्छ । अहिले त चलचित्रमा काम गर्नेहरू दोहोरीको भिडियोमा धमाधम आइरहनुभएको छ र दोहोरीमा काम गर्ने चलचित्रमा पनि जानुभएको छ । त्यसैले जतागरेर उस्तै हो भन्ने लाग्छ ।’
अञ्जलिले आफ्नो जन्मदिन मनाउँदै गर्दा र धेरैले शुभकामना दिइरहँदा आफ्नो काममा अझ पाको भएको बताउनुभयो । उहाँले धेरै फ्यान, अग्रज तथा समकालीन साथीभाइबाट आएका शुभकामना शब्दले थप जिम्मेवारी बोध गराएको बताउनुभयो । कार्यक्रममा ‘नक्कले माया’ गीतको विषयमा अन्तक्र्रिया पनि गरिएको थियो ।
जसमा भिडियोका निर्देशक शिशिर खाती, मोडल मेक्सम खाती र लेखक तथा संगीतकार नरेश खातीले आफ्नो भनाइ राख्नुभएको थियो । मेक्सम र नरेश दाजुभाइ हुनुहुन्छ । दुवैजनाले अञ्जलिसँग तीन वर्षअघि काम गरेको र बल्ल दोस्रो प्रोजेक्टमा काम गर्ने मौका मिलेको बताउनुभयो । भिडियोका निर्देशक शिशिरले पनि अञ्जलिले गर्ने हरेक काम राम्रो हुने बताउनुभयो ।
‘नक्कले माया’ यसअघि सार्वजनिक भएको ‘पुकुली माया’को फिमेल भर्सन हो । अर्थात् यसअघि यही गीत पुरुषको स्वरमा सार्वजनिक भइसकेको छ । अहिले रचना रिमाललाई गाउनु लगाइएको हो । गायिका रचना सांगीतिक कार्यक्रमका लागि दुबई गएकाले कार्यक्रममा उपस्थित हुन नसकेको कलाकार मेक्समले जानकारी दिनुभएको थियो ।



















