काठमाडौं:= सरकारले चलचित्र हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्र रिलिज हुन सकेका छैनन् । कतिपय ठूला बजेटका चलचित्र पर्ख र हेरको अवस्थामा छन् भने कतिपय साना लगानीका चलचित्र प्रदर्शन हुने क्रममा छन् ।
अब नेपाली चलचित्र हलमा दर्शकहरूको खचाखक अवस्था कहिलेबाट होला भन्ने प्रश्न आइरहन्छ । यो विषयमा चलचित्र क्षेत्रमा बेलाबेलामा चर्चा चलिरहन्छ । कतिले अब बलिउड वा हलिउडका चलचित्र नेपालमा नआई हलमा दर्शक आउनसक्ने अवस्था नरहेको पनि बताउँदै आएका छन् ।
यसैबीच नेपाली चलचित्रमा सफल कलाकार तथा निर्माताको छवि बनाइसक्नुभएको दीपकराज गिरीले नेपाली चलचित्र लगाउन हिन्दी चलचित्र नै कुर्नुपर्ने अवस्था आउनु राम्रो नरहेको बताउनुभएको छ । संकटको समयमा कोही न कोहीले आँट गर्नुपर्नेमा उहाँको जोड छ ।
दीपकराजले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो । कमसेकम दशैंमा रिलिज गर्ने डेट तोकेर तैयार भएर बसेका साथीहरूले त आँट गर्नुपर्ने थियो नि ! सहज हुँदा त एक आपसमा भिड्ने अफठ्यारो बेला चाहिँ…।’
काठमाडौं उपत्यकामा करिब एक महिनाअगाडि नै चलचित्र हल खोल्ने अनुमति पाइसके पनि हालसम्म चलचित्र रिलिज हुन सकेका छैनन् । ५० प्रतिशत अकुपेन्सीमा मात्रै हल चलाउन पाइने र देशभरका हल पनि नखुलेका कारण दशैंमा पनि चलचित्र रिलिज गर्न नसकिएको निर्माताहरूले भनाइ छ ।
तिहारमा हिन्दी चलचित्र सूर्यवंशी आउने र त्यसपछि मात्रै हलमा दर्शकको फ्लो हेरेर चलचित्र रिलिज गर्ने वा नगर्ने भन्ने मनस्थितिमा निर्माता रहेको बुझिएको छ ।



















