काठमाडौं:= नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको छ सदस्सीय प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँग भेट गरी विभागबाट हालै जारी भन्सार निर्देशिकालगायत विभिन्न विषयमा छलफल गरेको छ ।
सो अवसरमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास गर्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजस्व बुझाउने क्षेत्र भएको बताउनुभयो । उहाँले नाडा र विभागबीच सूचना आदानप्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढ्ने विषयमा लिखित समझदारीसमेत भइसकेको जानकारी गराउनुभएको नाडाले जनाएको छ ।
नाडाका महासचिव सुनिल रिजालले एचएस कोड परिवर्तन र साफ्टा सुविधाअन्तर्गत आउने अटोमोबाइल वस्तुको वर्गीकरणमा स्पष्टता हुनुपर्ने बताउनुभयो । कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकामा पर्ने समस्याबारे जानकारी गराउनुभयो ।
महानिर्देशक सापकोटाले विभागले सहजीकरण गर्ने जानकारी गराउँदै व्यवसायीका लागि अनलाइन पेमेन्ट र भेहिकल स्क्यानरको व्यवस्थासमेत गरिने बताउनुभएको नाडाले जनाएको छ । उहाँले विभागले अब ट्रस्टेड ट्रेडर्सको प्रोफाइलसमेत तयार गर्न लागेको जानकारी गराउँदै उक्त व्यवस्थाबाट व्यवसायीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य शुभ आसिस थपलियालगायतको सहभागिता रहेको नाडाले जनाएको छ ।




















