काबुल:= अफगानिस्ताका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले निर्वासित सरकारको गठन गर्नुभएको छ । सालेहले आफूलाई यो निर्वासित सरकारको कार्यवाहक राष्ट्रपति घोषणा गर्नुभएको छ । सालेह अहिले स्विट्जरल्याण्डमा हुनुहुन्छ । केही दिन पहिले उहाँका दाजुको तालिवानले हत्या गरेका थिए ।
अफगानिस्तानको खामा न्यूज एजेन्सीसँग कुरा गर्दै सालेहले भन्नुभएको छ, ‘मैले निर्वासित सरकारको गठन गरेको छु । यही सरकार कानुनी रूपमा र विश्वका लागि अफगानिस्तानको सर्वमान्य सरकार हुनेछ ।’ स्विट्जरल्याण्डस्थित अफगानिस्तानको दूतावासले पनि सालेहको यो बयान जारी गरेको छ ।
यो बयानमा प्रष्ट रूपमा भनिएको छ ‘तालिवानले अफगानिस्तानमा जो सरकार बनाएको छ अन्तर्राष्ट्रिय कानुनको हिसाबले त्यसको कुनै अस्तित्व छैन र त्यसले अफगान जनताको प्रतिनिधित्व गर्दैन । निर्वासित सरकारको बारेमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गरिएको छ । हाम्रो देशमा यतिबेला बाहिरी मानिसहरूको कब्जा छ ।’
बयानमा अगाडि भनिएको छ ‘पूर्वराष्ट्रपति अशरफ गनीले देश छोडेपछि उहाँका प्रथम उपराष्ट्रपति अमरुल्लाह सालेहले देशको नेतृत्व गर्नुहुनेछ । यसमा सक्रिय कार्यकारीहरू, न्यायपालिका र संसदीय शक्ति भएका नागरिकहरू हुनेछन् ।’ बयानमा सालेहबाहेक अन्य कुनै पनि व्यक्तिको नाम उल्लेख छैन जो कार्यवाहक सरकारमा हुनेछन् ।
पंजशीरमा तालिवानलाई चुनौती दिने अहमद शाह मसुदको नाम पनि कहीँ उल्लेख छैन । सालेह ताजिकिस्तानको बाटोहुँदै युरोप गए र स्ट्जिरल्याण्डमा गएर बसेको भनिएको छ । तालिवानले सालेहको यो घोषणामा कुनै प्रतिक्रिया दिएको छैन।




















