काठमाडौं:= नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ पुसको संसद् विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गर्नुभएको छ। अखिल (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले यद्यपि आफूले पार्टीका नेताहरूको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको बताउनुभयो ।
भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्तीमाता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उहाँले सुनाउनुभयो । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भन्नुभयोे, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिनँ, यत्ति नै रहेछ भनेर सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’
सत्ताबाट सडकमा पुग्दा कार्यकर्ताले सहयोग गर्ने हो कि होइन भन्ने अवस्थामा आफूहरू पुसको चिसोमा पनि सडकमा आएको उहाँको भनाइ थियो । ‘आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमनको काम भयो । संविधानका उपलब्धि उल्ट्याउने कुरा भयो । क्रान्तिकारी एजेण्डा, माओवादी आन्दोलन सिध्याउने, घेराबन्दीमा राख्ने र सखाप पार्ने काम भएको थियो । प्रतिनिधिसभा विघटन गर्नु मात्रै थिएन त्यसको लक्ष्य संविधानका उपलब्धि उल्ट्याउनु थियो । माओवादी आन्दोलनको विरासत उल्ट्याउने षड्यन्त्र थियो,’ दाहालले भन्नुभयो ।
त्यसपछि आफ्नो टिममा नेताहरूले मिलेर लड्ने निर्णय लिएको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीका टिमका साथीहरूको सहयोगबाट फेरि लड्ने, क्रान्तिकारी ढंगले लड्ने, जोखिम उठाएर लड्ने निर्णय भयो । जेल जान पर्ने भए पनि जेल जाने, मारिनुपर्ने भए पनि मर्ने संकल्प हामीबाट भयो ।’
पछिल्लोे समय माओवादी नेताहरू बिग्रिन लागेको भन्ने अभिव्यक्ति पनि दाहालले दिनुभएको छ । ‘हामी विस्तारै-विस्तारै, थाहै नपाईकन गएको १०÷१५ वर्षयता हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ,’ उहाँले भन्नुभयोे । पार्टीको नेतृत्वमा पुगेकाहरू अवसरवादी बन्न पुगेको पनि उहाँको भनाइ थियो ।
पद, प्रतिष्ठा, पैसा, कमिसनको निम्ति दलाल पुँजीपतिका हितहरूप्रति बढी संवेदनशील भएका र आफ्नै वर्ग यो परिवर्तनको निम्ति त्याग गरेकालाई विस्मृतिमा पारिएको पनि उहाँले बताउनुभयो । ‘जो जतिमाथि नेतृत्वमा पुग्यो, त्यो त्यति अवसरवादी । जो जति धेरै मन्त्री भयो, त्यो त्यति धेरै अवसरवादी,’ उहाँले थप्नुभयो, ‘जसलाई धेरै पटकमन्त्री बनाएँ ती पार्टीबाट पतन भए । जो जतिमाथि आयो त्यो त्यति पतन भयो ।’
अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु, अध्यक्षमा तीन जनाको दाबेदारी
विद्यार्र्थीहरूको संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु भएको छ । त्रिवि प्रांगण कीर्तिपुरमा सुरु भएको सम्मेलन माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो । माउ पार्टी टुक्रिएपछि अनेरास्ववियुको यो पहिलो अधिवेशन हो ।
पाँच दिन चल्ने अधिवेशनमा देशभरका एक हजार एकसय ११ प्रतिनिधि सहभागी भएका छन् । नयाँ नेतृत्व चयनसँगै विधान संशोधन पनि अधिवेशनको एजेण्डा छ । २७० केन्द्रीय समितिलाई घटाएर १५१ सदस्यीय बनाउने संगठनको तयारी छ । वर्तमान २७ जनाको पदाधिकारी समिति नौ जनाको बनाउने तयारी भएको संगठनले जनाएको छ ।
अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष जागृत रायमाझी, उपाध्यक्ष रमेश मल्ल र महासचिव बिन्दमान विष्टको दाबेदारी छ । दुईपटक उपाध्यक्ष बन्नुभएका रायमाझी वरिष्ठताका आधारमा पनि आफूले अध्यक्षको दाबी गरेको बताउनुहुन्छ । शैक्षिक क्षेत्रमा भइरहेको व्यापारीकरण र माफियालाई उहाँले आफ्नो एजेण्डा बनाएको बताउनुभएको छ । अर्का दाबेदार मल्ल विद्यार्थीलाई तेलको मूल्यवृद्धि हुँदा आन्दोलन गर्ने संगठनको रूपमा हेर्ने धारणा परिवर्तन गर्नुपर्ने विचार राख्नुहुन्छ । महासचिव विष्ट आफूले नेतृत्व पाए संगठनले लिएको दीर्घकालीन योजना कार्यान्वयन गरेर देखाउने दाबी गर्नुहुन्छ ।
अध्यक्षका तीनै प्रत्यासी एमाओवादी अध्यक्ष दाहाल पक्षीय मानिनुहुन्छ । महासचिव पदका लागि भने वर्तमान कार्यसमितिका पाँचजना सचिवको दाबेदारी छ । अनिल शर्मा, नरेन्द्र न्यौपाने, रञ्जित तामाङ, रामचन्द्र अधिकारी र डिबी तामाङ महासचिवको प्रत्यासी हुनुहुन्छ ।




















