संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर परराष्ट्रमन्त्री डा. खड्का स्वदेश फिर्ता।

काठमाडौं:= परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर स्वदेश फर्किनुभएको छ । परराष्ट्रमन्त्री डा. खड्कासहितको टोली संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर बिहीवार बिहान स्वदेश आइपुगेको हो । महासभा बैठकको सम्बन्धमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले आफुले महासभाको बैठकमा कोभिड १९ को प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रहरुलाई खोप, औषधीउपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको बताउनुभयो ।

त्यस्तै जलवायु परिवर्तनले नेपालको हिमालय श्रृङ्खलामा ल्याएको परिवर्तनबारे विश्व सचेत हुनुपर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्नकालागि नेपालजस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्ने लगायतको विषय आफुले सम्बोधनका क्रममा उठाएको उहाँले बताउनुभयो । त्यसैगरी, विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्ने तथा शक्ति राष्ट्रहरु हातहतियारको होडवाजीबाट मुक्त भएर हातहतियारमा लगानी गर्ने स्रोत साधन कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने कुरा सशक्त रुपमा उठाएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘मैले सम्बोधन गर्ने क्रममा मुख्यत्ः विश्वलाई कोभिड १९को अत्यन्त ठुलो प्रभाव छ । त्यसबाट मुक्त गर्नका लागि सबै राष्ट्रहरुलाई खोप तथा अन्य उपकरण तथा औषधी उपचारमा समान पहुँच, त्यस्तै गरेर बद्लिदोँ जलवायु परिवर्तनले हाम्रो हिमालय श्रृङ्खलालाई ल्याएको परिवर्तनहरुको बारेमा पनि विश्व अझ सचेत र जागरुक हुनुपर्छ भन्नेकुरा, त्यस्तै गरेर कम विकसित र भुपरिवेष्ठित राष्ट्रहरुको अधिकारका कुराहरु उनीहरुलाई आवश्यक साधन र स्रोत व्यवस्था गर्ने कुरा, त्यस्तै दिगो विकास लक्ष्यहरु प्राप्त गर्नको लागि नेपालजस्तो राष्ट्रहरुलाई सहयोग प्रदान गर्ने कुराहरु लगायत संयुक्त राष्ट्रसंघ र नेपालको ६३ वर्षभन्दा पुरानो साझेदारी त्यसलाई अझ प्रभावकारी ढंगले लाने, विश्वमा आतंकवादको खतरामुक्त गर्नका लागि साझा कार्यक्रम, साझा पाइला अगाडी बढाउने, विश्वमा बढ्दो हतियारको प्रतिस्पर्धा र घातक हतियारको होडबाजीबाट शक्ति राष्ट्र मुक्त भएर त्यहाँ लगानी गर्ने साधन र स्रोत कम विकसित, विकासोन्मुख राष्ट्रहरुको हितमा प्रयोग गर्नुपर्छ भन्नेकुरा हामीले सशक्त रुपमा उठायौँ ।’

परराष्ट्रमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघमा शान्ति मिसन पठाउने चौथो ठुलो राष्ट्र भएको हुनाले नेपालका सिपाईलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्नेकुरा उठाएको पनि बताउनुभयो । उहाँले भारत, बंगलादेश, बहराइन, कुवेत, मालदिभ्सका परराष्ट्र मन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा कुरा गरेको तथा विचार आदान प्रदान गरेको पनि बताउनुभयो । मन्त्री खड्काले नेपालले सशक्त र जोडदार रुपमा मुद्धाहरु उठाएको भन्दै ति मुद्धाहरु संयुक्त राष्ट्रसंघमा अभिलेखित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।