चरित्र हत्या गरेको भन्दै चारजना युट्युबर पक्राउ।

काठमाडौं:= प्रहरीले चार युट्युबरलाई काठमाडौंबाट पक्राउ गरेको छ । महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको भन्दै पक्राउ गरेको हो । एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्युरोले उनीहरूलाई पक्राउ गरेको छ ।

साइबर ब्युरोका अनुसार पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उपमहानगरपालिका–१७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका–३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका बेलवारी नगरपालिका–९, मेरङकी पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालिका–४, दोलखाका रोधन तामाङ रहेका छन् ।

उनीहरूले आफ्नै युट्युब च्यानल तथा अन्य युट्युब च्यानलमा समेत कार्यक्रम उत्पादन तथा पुनः उत्पादन गरी ललितपुरकी एक महिलाको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित महिलासँग कुराकानीसमेत नगरी निजको श्रीमान् तथा ससुरासँग एकतर्फीरूपमा कुरा गरी महिलाको चरित्र हत्या हुने सामग्री प्रसारण गरिएको थियो । प्रसारित सामग्रीमा महिलाको वास्तविक नाम तथा तस्वीरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

उक्त सामग्रीले महिलाको चरित्र हत्या भएको, इज्जत तथा प्रतिष्ठामा आँच पुराई महिलाप्रति घृणा वा द्वेषभाव पैदा गराएका कारण उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार तस्वीरसहितको भिडियो प्रसारण गरी महिलाको चरित्र हत्या गरेको, महिलाको इज्जतमा आँच पु¥याएको र पीडित महिलाप्रति घृणा पैदा हुने सामग्री प्रसारण गरेको भन्दै साइबर ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो ।