काठमाडौं := भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेका छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो ।
विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । भैरहवाको जितमा उपुल थरंगाले अविजित रहँदै सर्वाधिक ३४ रन बनाउनुभयो । कप्तान शरद भेषवाकर ६ रनका साथ अविजित रहनुभयो ।
त्यसअघि उसका प्रदीप ऐरीले २२ रन तथा तमिम इकबाल र रोहित पौडेलले समान १२/१२ रन बनाउनुभयो । विराटनगरका रामनरेश गिरीले २ विकेट तथा करण केसी र वसन्त रेग्मीले एक÷एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । भैरहवाका बलर चम्किएको खेलमा विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ तथा सुमित महर्जनले १३, आसिफ शेख र अनिल साहले समान ११/११ रन र वसन्त रेग्मीले अविजित १० रन बनाउनुभयो ।
सिकन्दर राजा ५ रनमा आउट हुँदा सौरभ खनालले ३ र रामनरेश गिरीले १ रन जोड्नुभयो । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले तीन÷तीन विकेट लिनुभएको थियो । यस्तै, अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले एक/एक विकेट लिनुभयो ।
यस जितसँगै भैरहवाले दुई खेलमा तीन अंक जोडेको छ । वर्षाका कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग एक–एक अंक बाँडेको थियो । विराटनगरको यो लगातार दोस्रो हार हो । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।
यस्तै, बुधबार नै भएको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो ।
ललितपुरले दिएको ५२ रनको सामान्य लक्ष्य पोखराले ६ दशमलब ३ ओभरमा एक विकेट गुमाएर भेट्टायो । पोखराको जितमा रिचार्ड लेभीले अविजित रहँदै ३८ रनको योगदान दिनुभयो । उहाँले २२ बलमा ५ चौका र १ छक्का प्रहार गर्नुभयो ।
त्यस्तै रित गौतमले १२ तथा साहन अराचिगे १ रनमा अविजित रहनुभयो । बलिङतर्फ ललितपुरका अज्मातुल्लाह ओमार्जाइले एक विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रनको योगफल बनाएको थियो । ललितपुरका लागि सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन बनाउँदा ओशाडा फर्नान्डोले अविजित १० रन जोड्नुभयो ।
नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट हुनुभयो । पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाइले १ रन बनाउनुभयो । सन्दीप जोरा शून्य रनमा आउट हुँदा राशिद खान शून्य रनमा अविजित रहनुभयो ।
ललितपुरलाई सस्तैमा समेट्नेक्रममा पोखराका नन्दन यादवले ३ विकेट लिनुभयो भने विक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट झार्नुभयो । वर्षाका कारण आउटफिल्ड भिजेकाले खेल करिब दुई घण्टापछि सुरुवात भएको थियो । जसमा निर्धारित २० ओभरको खेललाई सात ओभरमा घटाइएको थियो । यस जितसँगै पोखरा तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पोखराले दुई खेलमा तीन अंक जोडेको छ ।
पोखराले पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेको थियो । वर्षाका कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स-११ सँग पराजित भएको थियो ।




















