चर्चित गायक , गायिका पवन र प्रीति आलेको दोस्रो सहकार्य।

काठमाडौं:= नेपाली गीतसंगीतको क्षेत्रमा आफूलाई फरक पहिचान बनाउनुभएकी गायिका प्रीति आले र नेपाली गीतसंगीतको क्षेत्रमा सयबढी गीत गाइसक्नु भएका गायक पवन रानाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौं सामाखुसीमा आयोजित एक कार्यक्रमबीच ‘आलुजस्तो केटी’ बोलको गीत सार्वजनिक गरिएको हो । गायक पवन र गायिका प्रीतिको यो दोस्रो सहकार्य हो ।

यसअघि झण्डै डेढ वर्षअघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनि गर्नुभएको थियो । जुन गीत शीर्षककै कारण विवादित बन्न पुगेको थियो । अहिले सार्वजनिक ‘आलुजस्तो केटी’ गीतलाई त्यसै गीतको दोस्रो पार्टमा रूपमा लिइएको छ । सार्वजनिक कार्यक्रममा गायिका प्रीतिले यसपटक पनि डान्सिङ गीत दर्शक तथा श्रोतामाफ ल्याएको जानकारी गराउनुभयो । आफूले समय–समयमा फरक–फरक शैलीका गीत गाउन रुचाउने भन्दै यसपटक केही फरक गीत सार्वजनिक गरेको बताउनुभयो । ‘लोक गीत सुन्ने दर्शकका लागि नयाँ हुनसक्छ तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप् गीतलाई पनि लोक दोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मनपर्छ ।’ प्रीतिले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘डान्सिङ गीतलाई त्यहीअनुसार लिइदिनुहोला ।’

गायिका प्रीतिले गीतको शीर्षक किन विवादित बनाउन खोज्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गीतको शीर्षक हेरेर गीतको मूल्यांकन नगरिदिन अनुरोध गर्नुभयो । प्रीतिले भन्नुहुन्छ, ‘खासमा केटा र केटीबीचको सम्वाद हुने समयमा रिसाउन प्रयोग गर्ने शब्द हो, आलुजस्तो केटा अथवा आलुजस्तो केटी । आलु भन्ने शब्द नराम्रो होइन’ प्रीतिले विवादमा ल्याउन यस्तो शीर्षक नराखेको भन्दै प्रष्ट पार्नुभयो ।

यस्तै गीतका गायक पवन रानाले यसअघि गायिका प्रीतिसँगको सहकार्यमा दर्शक तथा श्रोताले मन पराइदिनु भएकाले यसपटक सहकार्यलाई अगाडि बढाएको बताउनुभयो । पवन भन्नु हुन्छ, ‘अहिलेको गीत डान्सिङ गीत हो । त्यसैले दोहोरी गीत भनेर नबुझिदिनु होला । दोहोरी गीत किन यस्तो शीर्षक भन्ने प्रश्न गर्नुहुन्छ तर दोहोरी गीतका गायकले फरक शैलीका गीत गाउनुहुन्छ भन्ने बुझिदिनुहुन अनुरोध गर्छु ।’ गीतमा शब्द पनि प्रीति आलेकै हो भने संगीत पवन रानाको छ । एरेन्ज विपिन आचार्यको छ ।

गीतमा पवन र प्रीतिले अभिनय गर्नुभएको छ । यस्तै उहाँहरूसँगै भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माको अभिनय छ । भिडियोमा लगानीसमेत गर्नुभएका रञ्जनले गीत राम्रो लागेकाले प्रीति र पवनको टिमसँग जोडिएको बताउनुभयो । रञ्जनको अभिनयको हिसाबमो यो पहिलो भिडियो हो । यस्तै भिडियोमा ‘द नेक्स्ट’गु्रपका प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन छ ।